काठमाडौं । कस्तुरीको बिनासहित एक पूर्व सैनिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–११ शेषमतीमा बस्दै आएका ३९ वर्षीय सरोज परियार र बैतडीको पाटन नगरपालिका–१ घर भई शेषमतीमै बस्ने ३२ वर्षीय जितेन्द्रबहादुर चन्द रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका परियार नेपाली सेनाको अन्य दर्जा (परिचर)का पूर्वकर्मचारी रहेको अनुसन्धान अधिकृतले जानकारी दिएका छन्।
कस्तुरीको बिना बिक्री–वितरण गर्न लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाबाट करिब ३० ग्राम बराबरको कस्तुरीको बिना बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, पक्राउ परेका अर्का व्यक्ति जितेन्द्रबहादुर चन्द दुईवटा मुद्दामा फरार रहेका व्यक्ति भएको खुलेको छ। २०७५ मंसिर १७ गते प्रहरी वृत्त बालाजुमा डाँका चोरी सम्बन्धी मुद्दा दर्ता भई उनी फरार थिए भने २०८१ वैशाख १७ गते प्रहरी वृत्त महाराजगञ्जमा बैंकिङ कसुर सम्बन्धी मुद्दामा समेत उनी फरार रहेका थिए।


