बिरगंज| पर्साको टेढामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तको समर्थनमा उल्लेखनीय जनसहभागिता देखिएको छ। आज आयोजित पार्टी प्रवेश कार्यक्रममा ठूलो समूह विभिन्न दल परित्याग गरी रास्वपामा आबद्ध भएको हो।

कार्यक्रममा सहभागीहरूले देशले परिवर्तनको माग गरिरहेको भन्दै रास्वपा नै नेपाली जनताको आशा, भरोसा र परिवर्तनको वाहक शक्ति भएको दाबी गरे। सोही विश्वासका आधारमा आफूहरू पार्टीमा प्रवेश गरेको उनीहरूको भनाइ थियो।
पाँच सयभन्दा बढी व्यक्तिलाई पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरि पन्तले अब देशभर रास्वपामय माहोल बनेको दाबी गरे। आगामी सरकार रास्वपाले बहुमतसहित गठन गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो। साथै, उनले अघिल्लो सरकारमा सहभागी दलहरू नै मुलुकको समृद्धि र विकासमा बाधक बनेको आरोप लगाए। जनताले अब पुराना दलप्रति विश्वास नगर्ने र आफ्नो जित सुनिश्चित रहेको समेत उनले उल्लेख गरे।
विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा टेढाका साकिर हुसेन, अबुलेश हुसेन लगायतका स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो। त्यसैगरी, सगिर आलम,मनीष यादव, कमला भुजेल र चन्दन यादवलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।


