बारा। बारा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत विश्रामपुर गा.पा.को इटियाहीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि रास्वपा केन्द्रीय सदस्य डा. नन्दन यादव रहेका थिए भने विशिष्ट अतिथिका रूपमा बारा क्षेत्र नं. ४ का रास्वपा उम्मेदवार रोहबर अन्सारी उपस्थित थिए। साथै पर्सा क्षेत्र नं. १ का रास्वपा क्षेत्रीय सभापति राम आर्य तथा अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो।

प्रवेश कार्यक्रममा एमालेका वार्ड अध्यक्ष प्रत्याशी सन्तोष साह सोनार लगायतका नेता–कार्यकर्ताहरू रास्वपामा प्रवेश गरेका हुन्। कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा घण्टी छापमा मतदान गरी प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रोहबर अन्सारीलाई विजय गराई परिवर्तनको नेतृत्व सुम्पने संकल्प व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै डा. नन्दन यादवले देशमा सुशासन, पारदर्शिता र विकासका लागि नयाँ राजनीतिक संस्कृतिको आवश्यकता रहेको बताए। उनले जनताको अपेक्षा पूरा गर्न रास्वपा प्रतिबद्ध रहेको धारणा राखे। त्यसैगरी उम्मेदवार रोहबर अन्सारीले बारा क्षेत्र नं. ४ को समग्र विकास, रोजगारी सृजना तथा आधारभूत पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रम स्थानीयको उल्लेखनीय सहभागितामा सम्पन्न भएको आयोजकले जनाएको छ।



