ललन चौरसिया
गौर रौतहट क्षेत्र नं. २ मा जनमत पार्टीका प्रतिनिधि सभा उम्मेदवार ई. सोनु कुशवाहासहित दर्जनौँ नेताले सामूहिक राजीनामा दिएका छन्। राजीनामा दिनेमा रौतहट जेनजी जिल्ला अध्यक्ष ई. सोनु कुशवाहा, जेनजी २.० का केन्द्रीय सचिव कुन्दन कुशवाहा, पूर्व प्रतिनिधि सभा उम्मेदवार रामयास झा तथा ईशनाथ नगरपालिकाका मेयर प्रत्याशी राम उदय साहलगायतका अगुवा नेता रहेका छन्।

राजीनामा घोषणा गर्दै नेताहरूले पार्टीभित्र बढ्दो आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी कार्यशैली, स्थानीय जनभावनाको बेवास्ता तथा विकाससम्बन्धी स्पष्ट कार्ययोजनाको अभावप्रति असन्तोष व्यक्त गरेका छन्।

राजीनामापछि प्रतिक्रिया दिँदै ई. सोनु कुशवाहाले राजनीति पद प्राप्तिका लागि नभई जनताको सेवा र सामाजिक परिवर्तनका लागि हुनुपर्ने बताएका छन्। युवालाई परिवर्तनको एजेन्डासहित अघि बढाइएको भए पनि पार्टीभित्रै युवाको आवाज दबाउने प्रवृत्ति देखिएकाले यस्तो निर्णय लिन बाध्य भएको उनको भनाइ छ।
निर्वाचन हुन अब ११ दिन मात्र बाँकी रहेका बेला आएको यो सामूहिक राजीनामाले रौतहट क्षेत्र नं. २ को चुनावी समीकरणमा नयाँ तरंग पैदा गरेको छ। अब यी नेताहरूको आगामी राजनीतिक यात्रा कतातर्फ मोडिनेछ भन्ने विषयमा स्थानीय तहमा चासो बढेको छ।


