बिरगञ्ज । दृष्टि सम्बन्धी अपांगता भएका खेलाडीहरूलाई लक्षित गर्दै मधेश प्रदेश नेत्रहीन क्रिकेट संघद्वारा आयोजित ५ दिने क्रिकेट प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। Round Table Nepal BFRT 8 को सहयोगमा सञ्चालन गरिएको उक्त प्रशिक्षण बिरगञ्ज–५ स्थित मुनलाइट स्कुलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा मधेश प्रदेशसहित देशका १२ जिल्लाबाट आएका २४ जना दृष्टि अपांगता भएका खेलाडीहरूको सहभागिता रहेको थियो। Eyes Nepal पर्साका कोषाध्यक्ष रुपशिला जैसवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बिरगञ्ज महानगर सभापति अमन आलम प्रमुख अथिति तथा रास्वपा पर्सा एकको क्षेत्रीय सभापति राम आर्य अथिति रहेका थिए। आलमलेले मैनबत्ती प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए।

प्रमुख अतिथि आलमले सेवा र सहयोगमार्फत मानवता बलियो बनाउने आवश्यकता औंल्याउँदै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए। साथै दृष्टि अपांगता भएका तथा अन्य प्रतिभाशाली व्यक्तिहरूलाई सरकारले आवश्यक सहयोग र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गरे।विशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक राजु कार्कीले यस्ता खेलाडीहरूको प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आयोजकको प्रयास प्रशंसनीय रहेको बताए। उनले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गर्दै सफलता अवश्य प्राप्त हुने विश्वास व्यक्त गरे।
त्यस्तै Lions Club of Birgunj Sesame का अध्यक्ष पिया सिंहले दृष्टि अपांगता भएका खेलाडीहरूको आत्मविश्वास र मेहनतबाट सबैले प्रेरणा लिनुपर्ने बताइन्। उनले यस्ता खेलाडीहरूको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखिन्।कार्यक्रममा Birgunj Chamber of Commerce and Industry का उपाध्यक्ष माधव राजपालले अपांगता भएका व्यक्तिहरूको क्षमता र योगदानलाई समाजले उच्च सम्मान दिनुपर्ने बताए। साथै राउन्ड टेबलका मोहित राजपालले संस्थाले सामाजिक सेवामा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई समर्थन गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रमका अवसरमा विभिन्न सहयोगी संस्थाहरू तथा व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। सहभागी खेलाडीहरूलाई दुई टोली—सगरमाथा र कञ्चनजङ्घा—मा विभाजन गरी प्रतियोगिता गराइएको थियो। फाइनल खेलमा सगरमाथा टोलीले १० ओभरमा १५० रन बनाएको थियो भने कञ्चनजङ्घा टोली १३९ रनमा सीमित हुँदा सगरमाथा टोली १२ रनले विजयी बनेको थियो। उक्त खेलमा मिथलेश पण्डित ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका १४ जना खेलाडी छनोट गरिएका छन्, जसले वैशाख ५ देखि ८ गतेसम्म चितवनमा हुने राष्ट्रियस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन्।
कार्यक्रमका सहजीकर्ता तथा आयोजक संस्थाका अध्यक्ष महेश साहले प्रशिक्षण सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था र व्यक्तिहरूप्रति आभार व्यक्त गरे। साथै अध्यक्ष रुपशिला जैसवालले यस्ता खेलाडीहरूको प्रतिभा उजागर गर्दै राष्ट्रको नाम उचो बनाउन कार्यक्रम आयोजना गरिएको बताइन्।


