बिरगंज ।वीरगञ्जमा मालवाहक ट्रकहरूबाट ‘ढाट’ नाममा भइरहेको अवैध असुली रोक्न पटक–पटक निर्देशन आए पनि कार्यान्वयन नभएपछि विवाद फेरि चर्किएको छ। एकीकृत जाँच चौकी (आईसीपी) बाट बाहिरिने ट्रकहरूबाट गैरकानुनी रूपमा रकम उठाइँदै आएको गुनासो बढेपछि पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्त ले कडा आपत्ति जनाएका छन्।


यसअघि नै गृह मन्त्रालय ले यस्तो असुली पूर्ण रूपमा अवैध भएको भन्दै तत्काल रोक्न निर्देशन दिएको थियो। तर स्थानीय तह र केही समूहको मिलेमतोमा दिनमा बन्द र राति पुनः सञ्चालन गर्ने शैलीमा असुली जारी रहेको आरोप छ।
सांसद पन्तले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल सँग समन्वय गरी तुरुन्तै अवैध असुली बन्द गर्न निर्देशन दिएका छन्। उनले कानुन विपरीत कुनै पनि शीर्षकमा कर वा शुल्क उठाउन नपाइने स्पष्ट पारे। उनका अनुसार भन्सारबाट बाहिरिने मालवाहक सवारीबाट ‘ढाट’ का नाममा विभिन्न स्थानमा गुम्ती राखी रकम असुल गर्नु न त संघीय कानुनअनुसार मान्य छ, न त स्थानीय तहलाई यस्तो अधिकार नै छ।
वीरगञ्ज भन्सार, आईसीपी र ड्राइपोर्ट जस्ता प्रमुख राजस्व संकलन केन्द्रबाट बाहिरिने प्रत्येक ट्रकबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म असुली भइरहेको व्यवसायीहरूको गुनासो छ। यसले ढुवानी लागत बढाएर उपभोक्ता मूल्यमा समेत प्रत्यक्ष असर पारिरहेको बताइएको छ।

सांसद पन्तले सम्बन्धित निकायलाई अब कुनै पनि प्रकारको अवैध असुली तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएका छन्। साथै, उनले यस्तो गतिविधि सह्य नहुने स्पष्ट चेतावनी दिएका छन्।


