ताप्लेजुङ, जेठ १० ।

अविरल वर्षासँगै काबेली, इन्द्रावती र इंवा खोलामा आएको भीषण बाढीका कारण ताप्लेजुङ र पाँचथर जिल्लाको सीमा क्षेत्रमा सञ्चालित चार वटा जलविद्युत् आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पुर्याउँदा कुल ५५ मेगावाट विद्युत् उत्पादन ठप्प भएको हो।
अमरपुर सब–स्टेसनका अनुसार शुक्रबार राति आएको बाढीले जलविद्युत् आयोजनाका बाँध (ड्याम साइट), इन्टेक, पाइपलाइन तथा विद्युत्गृह क्षेत्रमा गम्भीर क्षति पुर्याएको छ। बाढीका कारण अरुण काबेली पावर लिमिटेड अन्तर्गत सञ्चालित २५ मेगावाट क्षमताको काबेली खोला जलविद्युत् आयोजना र १० मेगावाट क्षमताको काबेली ‘बी-१’ क्यासकेड आयोजनाको उत्पादन पूर्ण रूपमा रोकिएको छ।
त्यसैगरी, पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित इंवाखोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रको पर्खाल बाढीले भत्काएको छ भने याङवरक गाउँपालिका–२ स्थित मेवाखोला जलविद्युत् आयोजनामा पनि व्यापक क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यी आयोजनाहरूबाट उत्पादित विद्युत पाँचथरको अमरपुर सब-स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने गरेको थियो।
बाढी र पहिरोले जलविद्युत् आयोजनामा मात्र नभई स्थानीय भौतिक पूर्वाधार र बस्तीमा समेत ठूलो क्षति पुर्याएको छ। पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको मोटरेबल पुल तथा निर्माणाधीन लिम्बुनी पुल बाढीले बगाएपछि ग्रामीण क्षेत्रको यातायात ठप्प भएको छ। मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्ड पनि ठाउँ–ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको छ।
बाढीपहिरोका कारण सो क्षेत्रमा मोबाइल नेटवर्क र विद्युत् सेवा समेत प्रभावित भएकाले क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल प्रभावित क्षेत्रमा क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने र मर्मत सम्भारका लागि प्राविधिक टोली खटाउने तयारी भइरहेको छ।


