वीरगञ्ज, १६ जेठ । वीरगञ्ज महानगरपालिका–१६ को सहयोग तथा श्री झरिमाई युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको महिला हिंसाविरुद्ध जनचेतना कार्यक्रमको तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्जको मिथिला नगरस्थित गरिब बस्तीमा आयोजित कार्यक्रममा झरी महिला विकास समाजकी अध्यक्ष आर्य प्रिया राउत प्रमुख अतिथि तथा वडा सदस्य रिता देवी र संस्थाकी सचिव बिनिता पटेल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा उपस्थित सबै महिला दिदीबहिनीहरुलाई आयोजको तर्फबाट गम्छा ओढाई स्वागत र सम्मान कार्यको साथै सबैलाई पहिलो,दोश्रो र आज तेश्रो दिन पनि नास्ता र मिनिरल वाटर पानीको व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राउतले कुनै पनि घरपरिवारको विकास र समृद्धिमा महिलाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले महिलाको सहनशीलता, जिम्मेवारीबोध र उचित सुझावले परिवारलाई सुदृढ र व्यवस्थित बनाउन मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रशिक्षकका रूपमा सहभागी राम आर्य ले महिलाहरूलाई आफ्नो अधिकार सुरक्षित राख्न आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले आफूले सक्ने हदसम्म मेहनत र प्रयास गर्दै अघि बढ्नुपर्ने तथा आफूले जानेका र नजानेका विषयमा अरूबाट शिक्षा र ज्ञान हासिल गरी त्यसलाई जीवनमा व्यवहारिक रूपमा प्रयोग गर्नुपर्ने बताउनुभयो।
आयोजकका अनुसार कार्यक्रममा करिब ६५ जना महिलाको सहभागिता रहेको थियो। कार्यक्रममा महिला हिंसाका विभिन्न स्वरूप, त्यसका असर, महिला अधिकार, लैङ्गिक समानता तथा हिंसाविरुद्ध कानुनी र सामाजिक रूपमा कसरी सचेत र सशक्त बन्न सकिन्छ भन्ने विषयमा जानकारी प्रदान गरिएको थियो।
सहभागी महिलाहरूले कार्यक्रमबाट प्राप्त ज्ञान र जानकारी आफ्नो समुदायमा समेत फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए। यस्ता जनचेतनामूलक कार्यक्रमले महिला सशक्तीकरण तथा हिंसामुक्त समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।


