वीरगञ्ज| वीरगञ्जमा सवारी चालकहरूले लागूऔषध सेवन गरे–नगरेको परीक्षण गर्न विशेष चेकजाँच अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले नारायणी अस्पताल को सहकार्यमा शुक्रबार गण्डक चोक क्षेत्रमा उक्त अभियान सञ्चालन गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार २२ जना सवारी चालकको लागूऔषध सेवन (लापसे) परीक्षण गरिएकोमा ५ जना चालक पोजिटिभ भेटिएका छन्। तीमध्ये एक जना निजी सवारीसाधनका चालक तथा चार जना सार्वजनिक सवारीसाधनका चालक रहेको प्रहरीले जनाएको छ।

लापसे परीक्षणमा पोजिटिभ देखिएपछि पाँचै जना चालकलाई नियन्त्रणमा लिई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख तथा ट्राफिक प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठ ले जानकारी दिए।

प्रहरीका अनुसार सवारी दुर्घटना न्यूनीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा यस्ता चेकजाँच अभियान सञ्चालन हुँदै आएका छन्। निरीक्षक श्रेष्ठले आगामी दिनमा पनि लागूऔषध सेवनविरुद्धको अभियानलाई निरन्तरता दिइने बताएका छन्।
प्रहरीको विश्वास छ कि चालकहरूको लापरबाही तथा जोखिमपूर्ण व्यवहार नियन्त्रण गर्न सञ्चालन गरिएको यस्तो अभियानले सडक सुरक्षामा सकारात्मक प्रभाव पार्नेछ र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ।


