वीरगञ्ज | वीरगञ्जको त्रिभुवन राजमार्गअन्तर्गत पर्ने मेन रोड क्षेत्रमा सडक सीमा भित्र रहेका बाँकी संरचना हटाउन आगामी आइतबारदेखि पुनः डोजर परिचालन गरिने भएको छ।

सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र पर्ने घर, टहरा तथा अन्य संरचना हटाउने कार्यलाई निरन्तरता दिन लागिएको जनाएको छ। कार्यालयले यसका लागि आवश्यक समन्वय तथा सहयोग गर्न वीरगञ्ज महानगरपालिकालाई अनुरोधसमेत गरेको छ।
डिभिजन प्रमुख किरण कार्कीले पठाएको पत्रअनुसार २०८३ असार ७ गतेदेखि सडक सीमा क्षेत्रभित्र रहेका अवैध तथा अनियमित संरचना हटाउने अभियान पुनः सञ्चालन गरिनेछ। यसअघि असार २ गते सार्वजनिक सूचना जारी गरी घरधनीहरूलाई पाँच दिनभित्र स्वेच्छिक रूपमा संरचना हटाउन आग्रह गरिएको भए पनि अधिकांश संरचना यथावत् रहेको सडक डिभिजनको भनाइ छ।

यसअघि बैशाख ६ र ७ गते पहिलो चरणमा गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक खण्डमा डोजर चलाइएको थियो। सो क्रममा सडक सीमा भित्र रहेका करिब एक हजार २०० घर तथा भवनमा असर परेको थियो। त्यसपछि केही घरधनीहरूले आफ्ना संरचना आफैं हटाए पनि घण्टाघर, माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका धेरै संरचना अझै हट्न बाँकी छन्।
सडक विस्तारको विरोध गर्दै स्थानीय घरधनीहरू भने निरन्तर आन्दोलनमा छन्। उनीहरूले मेन रोडलाई ‘शहरी मार्ग’ का रूपमा कायम गर्नुपर्ने तथा सडक विस्तारको कार्य तत्काल रोक्नुपर्ने माग गर्दै आएका छन्।

यता सडक डिभिजन कार्यालयले भने सडक ऐन, २०३१ अनुसार सडक सीमा संरक्षणका लागि आवश्यक कारबाही अगाडि बढाइने स्पष्ट पारेको छ। आइतबारदेखि सुरु हुने दोस्रो चरणको डोजर अभियानसँगै मेन रोड क्षेत्रमा पुनः तनावपूर्ण अवस्था सिर्जना हुन सक्ने अनुमान गरिएको छ।



