बारा| बारा जिल्लाको कलैया उपमहानगरपालिका–११, घोघरियास्थित एक पोखरीमा डुबेर ६ वर्षीया बालिका राधिका कुमारी पासवानको मृत्यु भएको छ।

मंगलबार साँझ करिब ६:३० बजे स्थानीय सन्तोष पासवानकी छोरी राधिका नुहाउने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएकी थिइन्। परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याएका थिए।
अस्पतालमा चिकित्सकले ईसीजी परीक्षणपछि साँझ ७:१० बजे बालिकालाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक विमलेश यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। साथै जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको नेतृत्वमा एसओसीओ (SOCO) सहितको मुचुल्का टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
हाल बालिकाको शव प्रादेशिक अस्पताल, कलैयामा राखिएको छ। घटनाका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ भने मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको छ।


