धादिङ । जेनजी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा धादिङको गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित करिब २०० परिवारलाई राहत सामग्री वितरण गरिएको छ।

वीरगञ्जबाट राहत सामग्री बोकेर शनिबार धादिङका लागि प्रस्थान गरेका जेनजी पर्साका टोलीले आइतबार गजुरी गाउँपालिका–५ र ६ स्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको हो।
राहत वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष गोविन्द लामिछाने, वडा नम्बर ६ का अध्यक्ष भक्तबहादुर तामाङ, जेनजी पर्साका संयोजक महादेवप्रसाद कुर्मी, प्रमुख सल्लाहकार वीरेन्द्र कण्ठ, युवा अभियन्ता तथा समाजसेवी सुशील पटेल, जेनजीका चन्दन महतो र रोकी खानलगायतको उपस्थिति थियो।
टोलीले बाढीपीडित परिवारका लागि चामल, दाल, आलु, प्याज, नुन, तेल, साबुन, सोयाबिन, चिउरा, दालमोट तथा लत्ताकपडालगायतका राहत सामग्री वितरण गरेको जनाएको छ। वितरण गरिएको राहत सामग्रीको कुल मूल्य करिब १५ लाख रुपैयाँ रहेको बताइएको छ।
राहत वितरण गर्दै युवा नेता सुधीर पटेलले विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको बताए। बाढीबाट प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न आफूहरूले सक्दो सहयोग गरेको उनले बताए।जेनजी पर्साले आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


