Lucky-Khabar_

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

रौतहट । भारतको बैरगनियामा काम विशेषले गएका नेकपा (एमाले) निकट नेपाल बौद्धिक परिषद् रौतहट तथा मधेश प्रदेशका अध्यक्ष एवं सञ्चारकर्मी अनिल झामाथि कुटपिट तथा दुर्व्यवहार भएको आरोप लागेको छ।

content ad p2

सोमबार बिहान करिब १० बजे काम विशेषले बैरगनिया जाने क्रममा सीमा पार गरेपछि मोटरसाइकलमा आएका केही व्यक्तिले आफूलाई रोकेर कुटपिट तथा दुर्व्यवहार गरेको झाको आरोप छ। घटनामा तस्करीमा संलग्न समूहको हात रहेको हुनसक्ने उनले दाबी गरेका छन्।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल बौद्धिक परिषद् रौतहटले घटनाको भत्र्सना गरेको छ। परिषद्का जिल्ला कार्यसमिति सचिव महम्मद अतिउल्लाहले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिएर निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।पत्रकारसमेत रहेका जिल्ला अध्यक्ष झामाथि भएको घटनालाई परिषद्ले गम्भीर रूपमा लिएको जनाएको छ। आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन परिषद्ले आग्रह गरेको छ।

सीमावर्ती क्षेत्रमा आवतजावत गर्ने नेपाली नागरिकमाथि कुटपिट तथा दुर्व्यवहारका घटना दोहोरिनुले नागरिकको सुरक्षा र सहज आवागमनमाथि प्रश्न उठेको परिषद्को भनाइ छ।यसैबीच, गत साता गौर नगरपालिका–५ स्थित एक किराना पसलनजिकै रहेको गोदाममा सशस्त्र प्रहरीले छापा मारेर ५० हजार रुपैयाँभन्दा बढी मूल्यको चिनी तथा अन्य सामान नियन्त्रणमा लिएको घटनासँग झामाथिको आक्रमण जोडिएको आशंका गरिएको छ।

पीडित झाका अनुसार उक्त गोदाममा आफूले सूचना दिएपछि सशस्त्र प्रहरीले छापा मारेको भन्दै केही व्यक्तिले आफूलाई निशाना बनाएका हुन्। यस विषयमा केही दिनअघि उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष रवीन्द्रनाथ गोपालीको रोहवरमा छलफलसमेत भएको र त्यतिबेला विवाद समाधान भएको उनले बताएका छन्।तर, त्यसपछि पनि नियोजित रूपमा आफूलाई सीमापारि बैरगनियामा आक्रमण गरिएको झाको दाबी छ। उनले गौर–५ का सुरेन्द्र गुप्ता, उनका छोरासहित केही अज्ञात व्यक्तिविरुद्ध बैरगनिया प्रहरीमा एफआईआर दर्ता गराएको तथा जिल्ला प्रहरी कार्यालय गौरमा समेत उजुरी दिएको बताएका छन्।

स्रोतका अनुसार सशस्त्र प्रहरीले छापा मारेर सामान नियन्त्रणमा लिएपछि व्यापारीहरूले कारबाही कसको सूचनाका आधारमा भएको हो भन्नेबारे खोजी गरेका थिए। सो क्रममा झाको नाम जोडिएपछि उनीमाथि आक्रमण भएको दाबी गरिएको छ।यद्यपि, घटनामा संलग्न व्यक्तिहरूको पहिचान, आक्रमणको वास्तविक कारण तथा झामाथि लगाइएका आरोपको सत्यताबारे सम्बन्धित प्रहरी निकायको अनुसन्धानपछि मात्रै यकिन हुने देखिन्छ। घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

पर्सा–बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा

लक्की खबर