वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्सामा भदौ महिनामा विभिन्न प्रकृतिका १५४ वटा अपराधका घटना दर्ता भएका छन्। ती घटनामा संलग्न १३८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले असोज २ गते सार्वजनिक गरेको भदौ महिनाको प्रगति विवरणअनुसार ज्यानसम्बन्धी ११, आत्महत्यासम्बन्धी ११, चोरीका ९, संगठित तथा आर्थिक अपराधका २४, सामाजिक अपराधका ७७, महिला तथा बालबालिकासम्बन्धी ९, सवारी ज्यानका ५ र अन्य प्रकृतिका ८ वटा घटना दर्ता भएका छन्।संगठित तथा आर्थिक अपराधतर्फ बैंकिङ कसुरका १३, ठगीका ६ र जुवाताससम्बन्धी एक गरी २० वटा घटना दर्ता भएका छन्। यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी तीनवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
अदालतबाट फैसला भएका मुद्दाको कार्यान्वयनतर्फ प्रहरीले १०७ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट २४ वर्ष ३ महिना २८ दिन कैद तथा १ करोड १४ लाख ८१ हजार ७५० रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको प्रहरी विवरणमा उल्लेख छ।लागूऔषध नियन्त्रणतर्फ भदौ महिनामा २७ वटा मुद्दा दर्ता गरी ४१ जनालाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट २२९ किलो ९३५ ग्राम गाँजा, ३५६ ग्राम ५१८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५७८ ग्राम चरेस र ३ ग्राम ७४० मिलिग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ७० वटा उजुरी परेकोमा सबैलाई मिलापत्रमार्फत फछ्र्यौट गरिएको छ। घरेलु हिंसासम्बन्धी पनि ७० वटा उजुरी परेको र सबैमा मिलापत्र भएको प्रहरीको विवरणमा उल्लेख छ।हराएका महिला, बालबालिका तथा अन्य व्यक्तिमध्ये २७ जना हराएकोमा १९ जना फेला परेको प्रहरीले जनाएको छ। प्रत्यक्ष प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमार्फत प्राप्त ३१४ वटा ठाडो उजुरीसमेत सबै फछ्र्यौट गरिएको छ।

सवारी दुर्घटनातर्फ भदौमा २६ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। प्रहरीले १७ जनाको उद्धार गरेको जनाएको छ। ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २१९ वटा सवारीमाथि कारबाही गरी १३ लाख ४९ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको छ।यस अवधिमा भन्सार छली तथा अवैध कारोबार नियन्त्रणतर्फ १ करोड ९ लाख ९ हजार ५९५ रुपैयाँ बराबरका सामान बरामद गरी एक जनालाई पक्राउ गरिएको छ। अवैध हातहतियारतर्फ एक थान हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ।
प्राकृतिक सम्पदा दोहन नियन्त्रणतर्फ बालुवा, ढुंगा र गिट्टी बोकेका २३ वटा ट्र्याक्टर बरामद गरी १ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध वन पैदावार चोरी–पैठारीतर्फ चार जना पक्राउ परेका छन् भने १० वटा साइकल र ४१ क्युबिक फिट वन पैदावार बरामद गरिएको छ। यसबाट २ लाख ९१ हजार १०० रुपैयाँ राजस्व तथा जरिवाना असुल भएको प्रहरीको विवरणमा उल्लेख छ।प्रहरीले भदौ महिनामा लागूऔषध, आत्महत्या, महिला हिंसा, बालविवाह, विपद्, साइबर अपराध तथा ट्राफिक सचेतनालगायतका विषयमा २६९ वटा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ती कार्यक्रममा ५ हजार ७१६ जना सहभागी भएर लाभान्वित भएका थिए।

यस्तै, प्रहरी हटलाइन तथा ड्युटी अधिकृतको सम्पर्क नम्बरमा ५ हजार ४३३ वटा कल आएको र नागरिक सहायता कक्षबाट ६ हजार ६१ सेवाग्राहीले सेवा लिएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रगति विवरणमा उल्लेख छ।अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सीसीटीभी, क्यूआर तथा डिजिटल निगरानी, सामाजिक सञ्जाल निगरानी, गोप्य सूचना संकलन, गस्ती, चेकिङ, मोबाइल क्यूआरटी तथा सीमाक्षेत्रमा निगरानी र कडाइलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।


