२ असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट घुस लेनदेनको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

लागूऔषध मुद्दामा पक्राउ परेका प्रतिवादीलाई थुनामुक्त गराइदिने भन्दै घुस मागेको आरोपमा एक जना बिचौलिया र उनलाई बुझाउन रकम लिएर अदालत पुगेका अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का अजय थापा मगर र विदुर नगरपालिका–९ का हरिराम गिरी रहेका छन्।
अदालतमा विमल घलेको थुनछेक बहस चलिरहेका बेला उनलाई रिहा गराइदिने भन्दै अजयले घुस रकम मागेको आरोप छ। अजयलाई बुझाउन गिरी ४ लाख ८० हजार रुपैयाँ लिएर जिल्ला अदालत परिसर पुगेका थिए।प्रहरीले गिरीलाई उक्त रकमसहित अदालत परिसरबाटै पक्राउ गरेको हो। घटनामा संलग्न रहेको आरोपमा अजयलाई पनि पक्राउ गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
यसैबीच, शुक्रबार नै अदालतले लागूऔषध मुद्दाका प्रतिवादी विमल घलेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको खतिवडाले बताए।घुस रकमसहित अदालत परिसरबाटै दुई जना पक्राउ परेपछि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


