वीरगञ्ज । जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई अघि सार्ने निर्णय भएको छ । बिहीबार बसेको पार्टीको बैठकले मधेश प्रदेशको मुख्यमन्त्रीमा पहिला महेश यादवको चर्चा चलेपनि जनमतले पछी सतिश सिंहलाई अघि सार्ने निर्णय गरेको राष्ट्रिय सचिव बीपी साहले जानकारी दिए ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि बुधबारबाट पदमुक्त भएका छन् । लगत्तै प्रदेश प्रमुख सुमित्रा भण्डारीले भोलि (शुक्रबार) १० बजेसम्म समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

‘हाम्रो पार्टीबाट मधेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई अघि सार्ने निर्णय भएको छ,’ जनमत पार्टीका रास्ट्रिय सचिव बिपी साहले भने ।
नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही साना दलको समेत गरी ५६ जनाको समर्थनमा जनमतले मुख्यमन्त्री दाबी गर्दैछ ।
नेकपा माओवादीले २ वटा, नेकपा एमालेले २ वटा, नेकपा एकिकृत समाजवादी (एस)लाई २ वटा मन्त्रालय दिने गरी तयारी भइरहेको छ भनि जानकारी प्राप्त भएको छ ।


