Lucky-Khabar_

प्रधानमन्त्री बन्न ओलीलाई देउवाको प्रस्ताव

१७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव राखेका छन् । यद्यपि एमाले–कांग्रेस सरकार बन्न–नबन्ने ओलीको निर्णयमा निर्भर हुने नेताहरूको दाबी छ ।

content ad p2

देउवा र ओलीबीच शनिबार बालकोटमा भेटवार्ता भएको थियो, जसले सत्ता राजनीति निकै तरंगित भएको छ । खासगरी यो भेटपछि सरकारको नेतृत्व गरेको माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झस्किएका छन् ।

यद्यपि बालकोट भेटबारे एमाले र कांग्रेसका शीर्ष नेताहरूलेधेरै खुलेर बताएका छैनन् ।

सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा नेताहरूले देउवासँग एमाले अध्यक्षसँग भएको भेटबारे सोधीखोजी गरेका थिए । सुरुमा देउवाले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)बारे मात्र छलफल भएको बताएका थिए ।

तर बैठकको अन्त्यमा पनि केही संकेत गरे । कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताए ।

देउवा निकट स्रोतका अनुसार देउवा र ओलीको सम्वाद त्यतिमा मात्र सीमित छैन । देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा एमाले अध्यक्ष ओली पनि सकारात्मक छन् ।

यद्यपि औपचारिक सहमतिको प्रक्रियाहरू पूरा गर्न बाँकी रहेको नेताहरू बताउँछन् । कांग्रेस निकट स्रोत भन्छ, ‘कांग्रेस र एमाले सहकार्य सहितको प्रतिस्पर्धाको बाटोमा जान सहमत भएका छन् । सम्भवत भरेभोलिमा थप प्रष्ट होला ।’
प्रचण्ड पनि ढुक्क

बालकोटको भेटपछि दबाबमा परेका प्रधानमन्त्री प्रचण्डले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । सोमबार बिहान फेरि ओलीसँग भेट गरे ।

बालुवाटारमा करिब तीन घन्टा लामो छलफलपछि प्रधानमन्त्री प्रचण्ड सत्ता गठबन्धन कायमै रहनेमा ढुक्क देखिएका छन् । ‘आज प्रधानमन्त्री अरू दिनभन्दा चम्किलो अनुहार लिएर मन्त्रिपरिषद् बैठकमा जानुभएको छ’ प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘ओलीसँगको भेटमा धितोपत्र बोर्डको अध्यक्ष, मन्त्रिपरिषद् हेरफेर र संक्रमणकालीन न्याय लगायतका विषयमा सहमति बनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले धितापत्र बोर्डको अध्यक्षमा आफ्नो रुचि नरहेको र कसैले खेलेको स्पष्ट पार्दै ओलीको रोजाइका पात्रलाई बनाउन आफू तयार भएको बताएका छन् । ओलीले परराष्ट्र मन्त्रालयमा अत्यधिक रुचि देखाएको भन्दै प्रचण्ड यो मन्त्रालय छाड्न पनि आफू तयार रहेको बताए ।

‘सबैभन्दा महत्वपूर्ण कुरा त, शान्ति प्रक्रियाको बाँकी काम सक्न पनि एमाले अध्यक्ष ओली राजी हुनुभएको प्रधानमन्त्रीले हामीलाई बताउनुभयो’ एक स्रोत भन्छ ।

दिनभरको घटनाक्रम हेर्दा कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओलीसँग मिलेर नयाँ सरकार बन्नेमा आशावादी देखिएका छन् । माओवादीका अध्यक्ष प्रचण्ड पनि ओलीले आफूलाई समर्थन जारी राख्नेमा ढुक्क जस्तै देखिएका छन् ।

निर्णायक भूमिकामा रहेका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जारी राख्छन् कि कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री हुने बाटो रोज्छन्, हेर्न बाँकी छ ।

सम्बन्धित खबर

राप्रपा पर्साको अध्यक्षमा पूर्व सांसद बिना जयसवाल कुर्मी सर्वसम्मत

लक्की खबर

वीरगञ्ज महानगर कमिटी एमाले विवाद स्थानीय तहमै समाधान गर्न महासचिव पोखरेलको निर्देशन

लक्की खबर

एमाले वीरगञ्ज महानगर कमिटी अध्यक्षमा सुन्दरप्रसाद कुर्मी नियुक्त

लक्की खबर