Lucky-Khabar_

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा रोपिँदै

2 साउन ,बिरगंज |हरेक वर्ष घरघरमा आषाढ शुक्ल एकादशीका दिन तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू ।

content ad p2

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउछन्। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चर्तुमासा पनि भनिन्छ।

एक वर्षमा २४ एकादशी पर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानी र   देशभरका  मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ।

वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।

चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ।

 

सम्बन्धित खबर

वीरगञ्जमा सन्त रामपालजी महाराजको सत्सङ्ग कार्यक्रम सम्पन्न, सांसद रामाकान्त चौरसिया तथा पुर्व मुख्यमन्त्री लाबाबू गद्दीसहित विशिष्ट व्यक्तिहरूको सहभागिता

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको शायबाह तेल क्षेत्रमा ड्रोन आक्रमणका क्रममा खसेका अवशेष लागेर एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ।

लक्की खबर