१८ साउन,वीरगञ्ज । वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेश दुबे वीरगञ्ज वितरण केन्द्रमा जिम्मेवारी सम्हाल्न थालेपछि विद्युत सेवा अनियमित हुने र कार्यालयमा सम्पर्क कठिन हुने समस्या बढेको उपभोक्ताहरूले गुनासो गरेका छन्।

प्रमुख दुबे अत्यधिक विदा लिने गरेको कारण उनको विदा खारेज गरी तुरुन्त वीरगञ्जमा ड्युटी गर्न नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रबन्धक मुनिन्द्र ठाकुरले निर्देशन दिएका छन्। ठाकुरले भने, “वीरगञ्जका हाकिमसाहब बिदामा काठमाडौं जानुभएको छ। उहाँको विदा कटौती गरेर तुरुन्त वीरगञ्ज कार्यालयमा हाजिर हुन निर्देशन दिएको छु। विद्युत् सेवा प्रभावकारी बनाउन दुई महिनासम्म चुस्तदुरुस्त ड्युटी गर्न भनेको छु।”
प्रमुख दुबेको कार्यशैलीमा सुधार नआएमा ठाकुरले दुबे र उनका मातहतका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। यस कदमले वीरगञ्जको विद्युत् सेवामा सुधार आउने अपेक्षा गरिएको छ।
अत्यधिक गर्मीको समयमा विद्युत अवरुद्ध हुदा उपभोक्ताहरूले सम्पर्क गर्न खोज्दा फोन नउठ्ने समस्या पनि व्यापक छ। एक स्थानीय कर्मचारीका अनुसार, कार्यालयको सेवा प्रभावकारी नभएको र उपभोक्ताहरूले सेवा पाउन नसकेको स्थितिमा सुधार आवश्यक छ।
विद्युत महसुल तिर्न ढिला हुँदा जरिवाना तिराउने प्राधिकरणले लोडसेडिङ्को महसुल घटाउनुपर्ने माग पनि उठेको छ। वीरगञ्जका स्थानीयहरूले विद्युत प्राधिकरणमा सुधार र पारदर्शिता ल्याउन ठोस कदम चाल्नुपर्ने आवाज उठाएका छन्।
यो घटनाले वीरगञ्जको विद्युत सेवामा सुधारको आवश्यकता झल्काउँछ र उपभोक्ताहरूका समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने देखिएको छ।


