२५ साउन, काठमाडौँ । नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमाशपथ लिएका छन् ।

युनुसले अन्तरिम सरकारको प्रमुख सल्लाहकारको रुपमा गएराति राष्ट्रपति कार्यालय बंगभवनमा आयोजित विशेष समारोहबीच राष्ट्रपति मोहम्मद शहबुद्दीनसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अन्तरिम सरकारको प्रमुखमा नियुक्त हुदाँ उनी फ्रान्सको राजधानी पेरिसमा थिए। विहीबार मात्र ढाका फर्किएर उनले सपथ ग्रहण गरेका हुन्। युनुस नेतृत्वको १७ सदस्यीय अन्तरिम सरकारमा आरक्षणविरोधी आन्दोलनको नेतृत्व गर्ने दुई जना विद्यार्थी नेता नासिद इस्लाम र आसिफ महमुद पनि छन् ।
शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बङ्गलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका हुन् ।
हसिनाको शासनकालमा भ्रष्टाचार र कानुन उल्लङ्घन गरेको भन्दै दर्जनौँ मुद्दा खेपेका युनुस बङ्गलादेशका गरिब नागरिक र अन्तर्राष्ट्रिय समुदायमा भने विभिन्न सामाजिक अभियानहरुका कारण चर्चित र सम्मानित भएको ब्यक्ति छन् ।


