१६ भदौं, विराटनगर । कोशी प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सवारी लाइसेन्सको ट्रायल पास भएकालाई अस्थायी लाइसेन्स दिने तयारी गरेको हो ।

यस्तै वितरण गरिने अस्थायी लाइसेन्सको अवधि एक वर्षको हुनेछ । ट्रायल पास भएकालाई स्माटकार्ड (लाइसेन्स) भने यातायात व्यवस्था विभागले नै दिनेछ । कोशी प्रदेशमा दुई वर्षदेखि ट्रायल पास गरेकाहरु स्मार्ट कार्डको प्रतिपक्षामा छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका निमित्त सचिव कमल थापाका अनुसार अब नयाँ ट्रायल पास गर्नेहरुलाई अस्थायी कार्ड दिइनेछ ।
अस्थायी कार्ड वितरणको परीक्षण यातायात कार्यालय विराटनगरबाट सुरु भएको छ । ‘ट्रायल पास गरेकालाई क्यूआर कोडसहितको एक वर्षको अस्थायी कार्ड वितरण गर्दैछौं,’ उनले भने,‘ विराटनगरमा परीक्षण गरि अन्य कार्यालयहरुमा पनि पठाउँछौं।’

शनिबार ट्रायल पास गरेकाहरुलाई आजबाट परीक्षणको रुपमा अस्थायी कार्ड छपाएर वितरण गरिनेछ । अस्थायी कार्डका लागि यातायात कार्यालय विराटनगर शाखालाई मेसिनसहित तीन हजार अस्थायी कार्ड पठाएको थियो।
यातायात व्यवस्था विभागले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अस्थायी लाइसेन्स वितरण गर्न गत वैशाखमा परिपत्र गरेको थियो ।
त्यस्तै अस्थाई कार्ड छपाइ गरी वितरण गर्न प्रदेश सरकारले ११ वटा प्रिन्टर मेसिन र कार्ड खरिद गरेको थियो ।


