Lucky-Khabar_

भारतीय गाडी नियन्त्रण प्रकरणमा कञ्चनपुर भन्सारका अधिकृत भट्ट विभागमा तानिए

वीरगञ्ज । भारतीय गाडी नियन्त्रणमा लिएको विषयमा सशस्त्र प्रहरीका एसपीसँग विवादमा मुछिएका कञ्चनपुर भन्सार कार्यालय, गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ।

content ad p2

भन्सार विभागले घटनाबारे थप अध्ययन तथा छानबिन गर्नुपर्ने भन्दै भट्टलाई त्रिपुरेश्वरस्थित विभागमा हाजिर हुन पत्राचार गरेको हो। सार्वजनिक भएको फोन संवादको अडियो तथा घटनासँग जोडिएका विषयमा थप अध्ययन भइरहेको विभागले जनाएको छ।

अत्तरियामा गड्डाचौकी भन्सारबाट जाँचपास भएर आएको भारतीय गाडी सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि भट्टले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई फोन गरेका थिए। सोही क्रममा भएको भनिएको फोन संवादको अडियो सार्वजनिक भएपछि घटना चर्चामा आएको हो।

सार्वजनिक अडियोमा भट्टले भन्सार कार्यालयबाट जाँचपास भइसकेको गाडी किन नियन्त्रणमा लिएको भन्दै प्रश्न गरेका छन्। उनले गाडी छाड्न वा भन्सार कार्यालयमा बुझाउन आग्रह गर्दै नछाडिए गृह मन्त्रालय, प्रहरी महानिरीक्षक (आईजीपी) तथा भन्सार विभागका प्रमुखलाई फोन गर्ने बताएका छन्।

घटना अत्तरियामा यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युब लगायत करिब २६ लाख रुपैयाँ बराबरको सामानसहित नियन्त्रणमा लिइएको विषयसँग सम्बन्धित रहेको बताइएको छ। न्यून मूल्यांकन गरी भन्सारबाट अनियमित ढङ्गले सामान पास भएको हुन सक्ने सूचनाका आधारमा संयुक्त प्रहरी टोलीले गाडी नियन्त्रणमा लिएको बताइएको छ।

नियन्त्रणमा लिइएको गाडी कैलाली भन्सार कार्यालयमा बुझाइएपछि त्यहाँ अन्डर बिलिङ नदेखिएको भन्दै गड्डाचौकी भन्सारमा पठाइएको थियो। त्यसपछि गड्डाचौकी भन्सारले सम्बन्धित व्यक्तिलाई सामान फिर्ता गरेको बताइएको छ।

भन्सार अधिकृत भट्टले भने भन्सार प्रक्रिया पूरा भइसकेको सामान बाटोमै नियन्त्रणमा लिएर व्यवसायीलाई अनावश्यक दुःख दिइएको भन्दै आफूले एसपी केसीलाई फोन गरेको बताएका छन्। कुराकानीका क्रममा आफ्नो शैली केही रुखो भएको उनले स्वीकार गरेका छन्।यता, एसपी केसीले नियन्त्रणमा लिइएको गाडी भन्सार कार्यालयमै बुझाइएको बताएका छन्।

घटनामा सार्वजनिक भएको अडियोको आधिकारिकता, संवादको पूर्ण सन्दर्भ तथा गाडीको जाँचपास र नियन्त्रणको प्रक्रियाबारे सम्बन्धित निकायबाट थप अध्ययन भइरहेको छ। भट्टलाई विभागमा हाजिर गराउने निर्णयलाई पनि सोही अध्ययन तथा छानबिन प्रक्रियाकै एक चरणका रूपमा हेरिएको छ।

सम्बन्धित खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर

सम्भावित चक्रवातको जोखिम : पर्सामा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

लक्की खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर