२३भदौ,वीरगञ्ज । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।सो अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा गणेश चतुर्थी महोत्सवको शुरुवात गरिएको छ। घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएको आकर्षक टेण्टपण्डालमा भगवान गणेशको मूर्ति स्थापना गरी पूजापाठ गरेर महोत्सवको शुभारम्भ गरिएको हो। यहाँ १५१ किलोको लड्डू पनि राखिएको छ।
जय गणेश झन्कार मण्डल परिवार र जय गणेश पूजा सञ्चालक समितिको संयुक्त आयोजनामा सुरु गरिएको यस महोत्सवमा ५ दिनसम्म बेलुकी सन्ध्या आरति, महाप्रसाद वितरण, अखण्ड ज्योति, भजनकीर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने महोत्सव आयोजक समितिका अध्यक्ष मदन प्रसाद कलवारले जानकारी दिए। उनले थपे कि भारतको कोलकता र मोतीहारीका कलाकारहरुलाई धार्मिक सांस्कृतिक कार्यकमको लागि बोलाइएको छ।

उता रक्सौलमा गणेश चतुर्थीको अवसरमा श्री गणेश महोत्सवको ११ दिने कार्यक्रम सुरु भएको छ। बिहानै भव्य कलश यात्राको आयोजना गरिएको थियो, जसमा बाजागाजा तथा भक्तिगीतमा झुम्दै सयौं पुरुष, महिला, युवती र बालबालिका सहभागी भए।
यात्रामा सहभागीहरुले “गणपति बप्पा मोरया” र “मंगल मूर्ति मोरया” जस्ता नाराहरू लगाउँदै रक्सौलको बैंक रोड, स्टेशन रोड हुँदै बंगरी नदीसम्म यात्रा गरे। नदीबाट कलशमा जल भरेर पुनः पूजास्थलमा आइपुगे, जहाँ वैदिक मन्त्रोच्चारणका साथ विधिपूर्वक कलश स्थापना गरिएको थियो।
पूजापछि पण्डालको पट खोलिएर श्रद्धालुहरू दर्शन र पूजाका लागि ओइरिन थाले। साँझमा गणेश वन्दना र महाआरतीको आयोजना गरिएको थियो, जसमा ठूलो संख्यामा भक्तजनहरूको सहभागिता रह्यो। महाआरतीपछि उत्तर प्रदेशको वृन्दावनका कलाकारहरूले बिहारी रासलीलाको प्रस्तुति दिए।
रक्सौलका भाजपा विधायक प्रमोद कुमार सिन्हा प्रमुख अतिथिका रूपमा उपस्थित रहे, जसले पूजनोत्सवको शुभकामना दिँदै सिद्धि विनायक श्री गणेशसँग क्षेत्रवासीहरूको सुख, समृद्धि र शान्तिको कामना गरे। ११ दिने महोत्सव सेप्टेम्बर १७ सम्म आयोजना हुने बताइएको छ।
महोत्सवमा बनारसको प्रसिद्ध गंगा आरती, जागरण, छप्पन भोग, र दैनिक भण्डारजस्ता कार्यक्रमहरू समावेश हुनेछन्। रक्सौलको प्रसिद्ध सूर्य मन्दिर प्रांगणस्थित गणेश मन्दिरमा पनि पूजा र जागरण कार्यक्रमको आयोजना गरिएको थियो, जहाँ रातभर श्रद्धालुहरू भक्तिगीतमा झुमिरहेका थिए।


