Lucky-Khabar_

पर्सामा मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एकै साथ एमबिबिएस छात्रवृत्ति

(राम आर्य)
२३ भदौ, वीरगञ्ज। पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस)को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको छ ।

content ad p2

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबीबीएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८.२५ अंक ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकालेका छन् र अर्का छोरा असिम राकीले पनि १३८.२५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकालेका थिए ।

आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।
राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबीबीएस’ जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन् ।

‘जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबीबीएस अध्ययन गरिरहेका छन्’, उनले भने, ‘यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै हर्षित भएका छौं।’

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबीबीएस पढ्नेमा नाम निकालेका थिए । तर, शुल्क तिरेरै पढ्नु भएन । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए । ‘अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ । तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ’, उनले भने, ‘बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ ।

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकालेका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउँछन् । ‘अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबीबीएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ’, उनले भने ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गरेका हुन् । उनीहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेका थिए ।

बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए । अहिले भने उनी वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहेका छन् ।
छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ । ‘मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए ।’

उनले विगत स्मरण गर्दै भने, ‘अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाइलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।’

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहेकी आमा नसिमा प्रवीणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गरिन् ।

‘हामीले कहिल्यै पनि चारै जना सन्तानलाई डाक्टर नै बन्नुपर्छ भनेर दबाब दिएनौँ’, उनले भनिन्, ‘जेठी छोरी नबुले एमबीबीएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।’

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबीबीएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेकी छिन् । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबीबीएस अध्ययन गरेकी हुन् ।

त्यस्तै फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबीबीएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबीबीएस अध्ययनरत छन् ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्‌को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको सुनाउँछिन् । ‘मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए’, उनले भनिन्, ‘श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाइलाई फेरि निरन्तरता दिने मौका पाए । यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु।’

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असल संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन् । ‘संस्कार माला जस्तै किनेर पाइँदैन’, ‘जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।’ उनले भने|

सम्बन्धित खबर

नेकपाले एमालेसँग पार्टी एकता नगर्ने, ‘जनताको आलोचना सुन्न’ गाउँ फर्कने

लक्की खबर

सरकारी कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋण, ब्याज शतप्रतिशत सरकारको!

लक्की खबर

सामाजिक अभियन्ता सन्तोष पौडेलद्वारा अपाङ्गता भएकी आमालाई ह्विलचेयर हस्तान्तरण

लक्की खबर