१३कार्तिक्, हेटौंडा| मकवानपुरका प्रहरीले रात्रि बसमा सवार यात्रुको पकेट मार्ने ३ जनालाई पक्राउ गरेको छ।

सोमबार राती करिब ११ बजे हेटौंडाबाट लोथर जाँदै गरेको ना ५ ख ८१०१ नम्बरको रात्रि बसमा सवार मकवानपुरको मनहरी गाउँपालिका-६ बस्ने ४९ वर्षीय भरत गौतमको साथमा रहेको ५१ हजार रुपैयाँ पकेट मारेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीले बताए अनुसार उक्त घटनाको सुचना प्राप्त हुनसाथ तत्काल इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा जिल्ला सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका-६ बस्ने ३२ वर्षीय लाक्पा तामाङ, जिल्ला उदयपुर त्रियुगा नगरपालिका-१० बस्ने ४२ वर्षीय प्रेम दोर्जे शेर्पा र जिल्ला धनकुटा छथर गाउँपालिका-३ बस्ने ३७ वर्षीय हेमराज श्रेष्ठलाई शंका लागी खानतलासी गर्दा उनीहरूको साथबाट चोरी भएको रकम फेला पारि पकाउ गरिएको प्रहरीले बताएको छ।
चोरीको रकम सहित लाक्पा तामाङ, प्रेम दोर्जे शेर्पा र हेमराज श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ।


