२४माघ,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले ०५८ सालदेखि स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।

अनुत्तीर्ण तथा विभिन्न कारणवश स्नातक तह र स्नातकोत्तर तहको पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरूलाई लक्षित गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
आजदेखि त्रिविले उक्त मौका परीक्षाको फारम खुलाएको छ । त्रिविले आज सूचना सार्वजनिक गर्दै भनेको छ, ‘वार्षिक परीक्षा प्रणालीअनुसार ०८१ सालमा सञ्चालन हुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत चारवर्षे र तीनवर्षे स्नातक तह प्रथम, द्वितीय, तृतीय र चौथो र स्नातकोत्तर तह प्रथम, दोस्रो वर्षको मौका परीक्षा दिने परीक्षार्थीहरूले आ–आफ्नो क्याम्पसमा मिति ०८१ साल माघ २४ गतेदेखि ०८१ साल फागुन २३ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित आवेदन फाराम भरी बुझाउनुहुन अनुरोध छ ।’


