९ फागुन,काठमाडौँ ।भारत सरकारले भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु पश्चात् आवश्यक सुरक्षा उपायहरू लागू गरिरहेको जनाएको छ ।

भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मृतकको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भारतीय सरकारले विदेशी विद्यार्थीहरूको सुरक्षालाई उच्च प्राथमिकता दिने बताएका छन् ।
नेपालका विद्यार्थीलाई गहिरो प्रभाव पार्ने घटनाले ओडिशा सरकार र विश्वविद्यालय प्रशासनलाई तत्काल कदम चाल्न बाध्य पारेको छ ।
गएको फागुन ४ गते २० वर्षीय प्रकृति लम्साल किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । नेपाली विद्यार्थीहरूले घटनालाई शङ्कास्पद ठान्दै विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गर्ने काम गरेको थियो । घटनापछि नेपाली समुदाय र विद्यार्थीहरूबिच त्रासको माहौल सिर्जना भएको छ ।
ओडिशा प्रहरीले मुख्य अभियुक्तसहित केही व्यक्तिहरूलाई पक्राउ गरी उनीहरूमाथि मुद्दा दर्ता गरिसकेको प्रवक्ता जयसवालले जानकारी दिए । साथै, ओडीशा राज्य सरकारले घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ पनि उनले बताए । समितिले अनुसन्धान मार्फत निकालेको निष्कर्षका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक कदम चालिने पनि उनले आश्वासन दिए ।
किट विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेपछि सयौँ जना सडक र रेलको बाटो हुँदै नेपाल फर्किसकेका छन् । नेपाल फिर्ता भइसकेका विद्यार्थीहरूको सुरक्षित पुनरागमन र पठनपाठनमा सहज वातावरण निर्माण गर्न ओडिशा सरकारले कदम चालिरहेको पनि उनले बताए ।
विद्यार्थीहरूले आफू असुरक्षित महसुस गरेको बताइरहेका बेला सरकारले उनीहरूको शैक्षिक गतिविधिमा निरन्तरता दिने उपायहरू अवलम्बन गरिरहेको जयसवालले दाबी गरे ।

विद्यार्थी सुरक्षालाई थप बलियो बनाउन भुवनेश्वरको स्थानीय प्रहरीले २४/७ हेल्प लाइन सञ्चालनमा ल्याएको पनि उनले बताए । हेल्प लाइनले नेपाली विद्यार्थीहरूलाई तात्कालिक सहयोग र समन्वयको सुविधा प्रदान गर्ने उनको भनाइ छ ।
भारतीय परराष्ट्र मन्त्रालयका अधिकारीहरूले नेपाल सरकार र ओडिशा प्रशासनसँग निरन्तर सम्पर्कमा रही घटनालाई गम्भीरतापूर्वक हेरिरहेको पनि उनले बताए ।
नेपालका विद्यार्थीहरूको सुरक्षाका लागि प्रतिबद्धता व्यक्त गर्दै उनीहरूको भविष्य सुरक्षित बनाउन आवश्यक सबै कदम भारतीय सरकारले चालिरहेको जयसवालको भनाइ छ ।
नेपालमा विभिन्न विद्यार्थी सङ्गठन र नागरिक समाजले प्रकृति लम्साल घटनाको पारदर्शी र निष्पक्ष छानबिनको माग गर्दै आएका छन् । उनीहरूले नेपाल सरकारलाई यस घटनामा विशेष चासो राख्न र पीडित परिवारलाई न्याय दिलाउन पहल गर्न आग्रह गरेका छन् ।
यस घटनाले विदेशी भूमिमा नेपाली विद्यार्थीहरूको सुरक्षाका विषयमा व्यापक बहस सिर्जना गरेको छ । अहिले दुवै देशका सरकारहरू विद्यार्थी सुरक्षालाई थप मजबुत बनाउने र सुरक्षाका उपायहरूलाई अझ प्रभावकारी बनाउने विषयमा ध्यान केन्द्रित गरिरहेका छन् ।



