रंजित चौरसिया

२३ चैत्र, वीरगंज। बारा जिल्लाको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा घुमुवा खटाई अबैध कारोबार तस्करीलाई प्रशय दिईरहेको समाचार प्राप्त भएको छ ।ईप्रका सिम्रौनगढ मातहतका युनिटहरु र तस्करहरुबाट रकम असुलीकै लागि दुई जना प्रहरीलाई घुमुवाको रुपमा खटाईएको बताईन्छ ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत असई विजय महतो र प्रहरी जवान छोटेलाल पटेलले सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट हुने गरेको अबैध कारोबारीहरुबाट मासिक रुपमा नाकामै पुगी रकम असुली गरिरहेको स्थानियहरुले बताएका छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी जस्ता आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढका घुमुवा चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् ।
सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक १० हजार देखि ५० हजार असुली द्धय घुमुवाहरुले तस्करीको लाईन सुचारु गराएको एक व्यपारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
सो नाका भएर भारतबाट अरविन्द हार्डवेयर र कस्मेटिक, शत्रुधन र सन्दिप चला, भोला, मास्टर, सन्दीप र राकेश कपडा, धान, मल लगायतका सामग्रीहरुको तस्करीको माध्यमबाट निर्वाध रुपमा आईरहेको समाचार स्रोतको दाबी रहेको छ ।

नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको स्थानिय प्रत्यक्षदर्शीहरुले बताएका छन् । ती स्रोतका अनुसार तस्करी वापत द्धय घुमुवाहरु महतो र पटेलले ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख एवम प्रहरी निरीक्षक पवन पछाईलाई राम्रै रकम बुझाउने गरेको बताईन्छ ।
बिवादित प्रहरी सहायक निरिक्षक महतो ईप्रका सिम्रौनगढ मातहतमा पर्ने पिपरपाती चौकीका प्रमुख र करिब १ वर्ष अगाडि जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा बसी कार्य गरिसकेको हुनाले सो क्षेत्रका तस्कर र तस्करीहरुबारे जानकार रहेकोले इप्रकाका प्रहरी निरीक्षक पछाईले घुमुवाको रुपमा खटाई अवैध आर्थिक असुली गराई रहेको स्रोतले जनाएको छ ।

त्यसैगरी प्रहरी जवान छोटेलाल पटेल प्रहरी संगठनका अधिकृतहरुलाई रिझाई बिगत २ वर्ष देखि ईप्रका सिम्रोनगढमा घुमुवाको रुपमा कार्य गर्दै प्रहरी सहायक निरीक्षक महतो सँगै तस्करी लगायत अवैध कार्यलाई बढावा दिदै आएको स्रोतको भनाई रहेको छ ।


