१ असार,वीरगंज। सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले आज त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गतको वीरगंज नर्सिङ क्याम्पसको निरीक्षण गरेका छन्।

मन्त्री यादवले निरीक्षणका क्रममा क्याम्पसमा विद्यमान खानेपानीको समस्याबारे गम्भीर छलफल गरिएको थियो। जीर्ण भइसकेको ट्याङ्कीबाट पानी चुहिने अवस्था रहेकोले तत्काल मर्मत कार्य अघि बढाउने र आवश्यक परेमा नयाँ ट्याङ्की निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै क्याम्पस परिसरभित्र खुला नाला रहेको, साथै विर्ता बस्तीको फोहोर पानी सोही नालामा मिसिएर वातावरण अत्यन्त प्रदूषित बनिरहेको गुनासो विद्यार्थी तथा क्याम्पस प्रशासनबाट प्राप्त भएको बताइएको छ। मन्त्री यादवले नालाको सरसफाइ, व्यवस्थित ढल निकास र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका छन्।

अध्ययन, अध्यापन तथा स्वास्थ्य सेवा प्रदान गर्ने वातावरणलाई अझ स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने साझा लक्ष्यमा सरकार प्रतिबद्ध रहेको मन्त्री यादवले बताएका छन्।

सबै पक्षसँग सहयोग र समझदारीको भावना सहित समृद्ध शैक्षिक तथा स्वास्थ्य वातावरण निर्माणमा हातेमालो गर्न आग्रह समेत उनले गरेका छन्।



