१ असार,वीरगञ्ज । कलैया उपमहानगरपालिका–१४ बघवन बारामा केटाकेटीबीचको सामान्य विवादले ५० वर्षीय एक पुरुषको ज्यान गएको छ। स्थानीय ५० वर्षीय नन्दु राउत कुर्मीको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ।


गत जेठ २९ गते साँझ केटाकेटीको विवादलाई लिएर उमेश जयसवालसहित उनका परिवारजनले कुर्मीलाई कुटपिट गरेका थिए। जयसवाल परिवारले कुर्मीलाई कलैया–१४ स्थित उमेश कलवारको राइस मिलबाट समातेर निर्घात कुटपिट गरेको आरोप छ। गम्भीर घाइते भएका कुर्मीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, कलैया पुर्याइएको थियो। तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए भनि जिल्ला प्रहरी कार्यालय बाराले जानाएको छ ।

घटनाको भोलिपल्ट मृतकका परिवारजनले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरीमा उमेश जयसवाल, उनकी पत्नी रञ्जु जयसवाल, छोराहरू अमित, सुमित र सुजित जयसवाल तथा उमेशका मामाका छोरा दिगम्बर जयसवाललाई प्रतिवादी बनाइएको छ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले हाल दिगम्बर जयसवाललाई नियन्त्रणमा लिइएको जानकारी दिनुभएको छ। उहाँले घटनापछि घर छाडी फरार रहेका अन्य पाँच जनाको खोजी कार्य तीव्र रूपमा भइरहेको पनि बताउनुभयो।
प्रहरीले घटनालाई गम्भीर आपराधिक घटनाका रूपमा हेरेको र दोषीहरूलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गरिने जनाएको छ। यस घटनाले सामान्य विवादलाई पनि बेवास्ता गर्दा ज्यान जाने अवस्था सिर्जना हुनसक्ने सङ्केत दिएको छ।


