राम सुन्द्र आर्य
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले मधेश प्रदेशमा कांग्रेसका महाधिवेशन लक्षित रणनीतिमा आफ्नो शक्ति प्रदर्शन गरेको छ।


महोत्तरीको बर्दिबासमा शनिबार सम्पन्न समूहको भेलामा आसन्न महाधिवेशनलाई मुख्य एजेन्डा बनाएर पार्टीभित्रका बेथिति अन्त्य गर्ने रणनीतिबारे छलफल भएको छ । भेलामा सप्तरीदेखि पर्सासम्मका कोइराला निकट नेताहरू सहभागी थिए । धनुषाका युवा नेता सुरेश कोइरालाका अनुसार, यो भेलाले कांग्रेसको महाधिवेशन निर्धारित समयमै सम्पन्न गराउन दबाब सिर्जना गर्ने र त्यसका लागि आवश्यक रणनीति निर्माण गर्ने विषयमा केन्द्रित थियो ।

हालै देउवा समूह छोडेर कोइराला समूहमा प्रवेश गरेका कांग्रेसका प्रभावशाली नेता तथा प्रदेश सांसद रामसरोज यादवको अध्यक्षतामा भएको यस भेलामा केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव, मधेश सरकारका श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, बजरंग नेपाली,अजय द्विवेदी,डा.शुष्मा तिवारी,राजेन्द्र अमात्य, श्याम पटेल,शेख वकिल,भोला साह लगायतका नेताहरूको उपस्थिति थियो । यो भेलाले पार्टीभित्र शेखर कोइराला समूहको प्रभाव विस्तार गर्ने र आगामी महाधिवेशनमा सशक्त रूपमा प्रस्तुत हुने तयारीको संकेत दिएको छ ।


