राम आर्य
३०साउन,वीरगञ्ज । आज शुक्ववार बिरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आफ्नो ७९औँ स्वतन्त्रता दिवस धूमधामका साथ मनाएको छ । प्रत्येक वर्ष अगस्ट १५ मा झैँ यस वर्ष पनि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा विशेष कार्यक्रमको आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो ।

उक्त कार्यक्रमको प्रमुख आकर्षणअन्तर्गत भारतका महावाणिज्यदूत देवी सहाय मिणाले राष्ट्रिय झन्डा फहराउँदै देशभक्ति र एकताको भावना झल्काउने सम्बोधन गरे । सो अवसरमा विभिन्न सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण गीत र नृत्यका माध्यमबाट स्वतन्त्रताको महत्त्व र राष्ट्रिय गौरवलाई उजागर गरिएको थियो ।

वीरगञ्जमा रहेका भारतीय समुदायसँगै स्थानीयवासीहरूले पनि भारतको स्वतन्त्रता दिवसलाई उतिकै खुशी,उमंग र उल्लासका साथ सबै एकापसमा मिलिजुली मनाएका थिए ।सो कार्यक्रममा बिरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लाम्साल,शस्त्र प्रहरी प्रमुख तथा पत्रकारहरुको बिशेष उपस्थिति रहेका थिए |

त्यस्तै महावाणिज्य दूतावासका अधिकारी, कर्मचारी, व्यापारी, विद्यार्थी तथा समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा भारत–नेपाल मैत्री सम्बन्ध झनै मजबुत बनाउन निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।


