वीरगञ्ज । वीरगञ्जको दसैँ मेलामा अष्टमीको राति भएको हत्याकाण्डमा संलग्न ‘खुनी दरिन्दे समूह’का थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकहाँमैनपुर गाउँपालिका–१ धोरे स्थायी घर भई वीरगञ्जमा बस्दै आएका १६ वर्षीय अंशु गिरी रहेका छन् ।

घटना लगत्तै फरार भएका गिरीलाई भारतमा लुकेर बसेको अवस्थामा मङ्गलवार पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ । यसअघि उक्त हत्याकाण्डमा संलग्न पाँच जनालाई प्रहरीले असोज १५ गते पक्राउ गरी असोज १६ गते पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो ।

पक्राउ परेका अन्य अभियुक्तहरूमा वीरगञ्ज महानगरपालिका–२४, रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमीरी पटेल (करण प्रसाद पटेल), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।

घटना वीरगञ्ज महानगरपालिका–१० गीता मन्दिर रोड नजिकै दसैँ मेलामा मङ्गलवार राति ११:३० बजे भएको थियो । मेला घुम्न गएका युवाहरूको दुई समूहबिच विवाद र कुटपिट हुँदा बाराको परवानीपुर गाउँपालिका–९ स्थायी घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) को मृत्यु भएको थियो । गम्भीर घाइते गोल्डेनलाई नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, हत्यामा संलग्न समूहले ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएर आपराधिक गतिविधि सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।
प्रारम्भिक अनुसन्धानले हत्या पुरानो रिसिइबी, प्रतिशोध र आफूलाई ‘ग्याङ्स्टर’को रूपमा प्रस्तुत गर्ने उद्देश्यले भएको देखिएको एसपी पाठकले बताए । मृतक गोल्डेन र विपक्षी समूहबिच विगतमा पनि झैझगडा भएको प्रहरीले जनाएको छ ।
घटना भएको राति नै प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोलीले सिसिटिभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषणको आधारमा तीन अभियुक्तलाई पक्राउ गरेको थियो । बाँकी दुई जनालाई भारतको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधवार पक्राउ गरिएको थियो ।
एसपी पाठकले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूको खोजतलास जारी रहेको बताएका छन् । उनले वैज्ञानिक विधि र प्रविधिको प्रयोग गरी अनुसन्धानलाई तीव्र बनाइएको र दोषीहरूलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हत्याकाण्डले वीरगञ्जमा ग्याङ संस्कृतिको बढ्दो प्रभाव र युवाहरूमाझ हिंसात्मक गतिविधिको जोखिमलाई उजागर गरेको छ । हत्या पश्चात् स्थानीय समुदायमा त्रास फैलिएको छ भने प्रहरीले घटनालाई लिएर थप अनुसन्धान र कारबाहीमार्फत यस्ता आपराधिक गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।


