वीरगञ्ज । जेन–जि पर्साका संयोजक विशेष साह र सल्लाहकार राजा गुप्ताको विशेष पहलमा पर्सामा राजनीतिक समन्वयबारे पहिलो चरणको सकारात्मक छलफल सम्पन्न भएको छ।
छलफल कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य रामकिशोर सिंह (पराग), पर्सा संयोजक रामबाबु यादव, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तसहित विभिन्न राजनीतिक दल तथा समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वर्तमान राजनीतिक अवस्था, आपसी राजनीतिक समन्वय, आगामी कार्ययोजना तथा निर्वाचन रणनीतिबारे गहन विचार–विमर्श गरिएको आयोजकले जनाएका छन्। छलफल जेन–जि पर्साका सदस्यहरूको उपस्थितिमा सौहार्दपूर्ण र रचनात्मक वातावरणमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै जेन–जि पर्साका संयोजक विशेष साहले देशभरका विभिन्न जिल्लाका प्रतिनिधिहरू एकजुट भई आगामी निर्वाचनमा सकारात्मक, परिवर्तनमुखी र युवामैत्री राजनीतिक बाटो निर्माण गर्न आवश्यक रहेको बताए। उनले युवाको सक्रिय सहभागिता, आपसी समझदारी र साझा एजेन्डामार्फत नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न सकिने विश्वास व्यक्त गरे।



