८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता लागू हुनुअघि नै प्रदेश मातहतका अस्पतालहरूमा कांग्रेस–एमालेबीच भागबन्डा गर्दै अध्यक्ष र सदस्य नियुक्त गरेको छ। ४ माघको मन्त्रिपरिषद् बैठकले ५ वटा प्रदेशस्तरीय अस्पतालमा अध्यक्ष तथा सदस्य नियुक्त गरेको हो।

सरकारले योग्यताका आधारमा नियुक्ति गरिएको दाबी गरे पनि कांग्रेसले ३ र एमालेले २ अस्पतालको अध्यक्ष लिएको मन्त्रिपरिषद् स्रोतले जनाएको छ। अध्यक्ष जुन पार्टीको भए पनि महिला सदस्य सोही पार्टीको र खुला सदस्य अर्को पार्टीबाट राख्ने सहमति भएको छ।
कांग्रेसको भागमा प्रदेश अस्पताल गोरखा, धौलागिरि आयुर्वेद अस्पताल बागलुङ र मातृशिशु मितेरी अस्पताल कास्की परेका छन् भने एमालेले प्रदेश अस्पताल आँपपिपल गोरखा र गण्डकी आयुर्वेद अस्पताल लेखनाथको अध्यक्ष लिएको छ।
यसअघि पनि ११ वटा जिल्ला अस्पतालमा भागबन्डाकै आधारमा अध्यक्ष तथा सदस्य नियुक्त भइसकेका छन्। सरकारले नयाँ गठनादेश ल्याएर योग्यताका आधारमा नियुक्ति गरिने दाबी गरे पनि व्यवहारमा राजनीतिक भागबन्डा कायमै रहेको आरोप लागेको छ।


