Lucky-Khabar_

वीरगञ्जमा रेल्वे म्युजियम निर्माणको तयारी सुरु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज–९ घण्टाघर नजिक बीपी उद्यान छेउको खाली जग्गामा रेल्वे म्युजियम निर्माणको तयारी सुरु गरेको छ। सोही क्रममा शनिबार उक्त क्षेत्रमा रहेका पुराना रेल्वे संरचना तथा झाडी–रुख हटाएर सरसफाइ अभियान सञ्चालन गरिएको छ।

गत असार ९ गते सम्पन्न वीरगञ्ज महानगरपालिकाको १३औँ नगरसभामा मेयर राजेशमान सिंहले चालू आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वीरगञ्जलाई नेपालको पहिलो रेल सेवा (रक्सौल–अमलेखगञ्ज) सुरु भएको ऐतिहासिक सहरको रूपमा उल्लेख गरेका थिए। रेल सेवा सञ्चालनको १०० वर्ष पूरा भएको अवसरमा पुराना रेल्वे संरचनाको संरक्षण र पुनःप्रयोग गर्दै रेल्वे म्युजियम निर्माण गर्ने घोषणा गरिएको थियो।

content ad p2

उक्त घोषणालाई कार्यान्वयन गर्ने क्रममा बीपी उद्यान नजिकको जग्गामा म्युजियम निर्माणको प्रारम्भिक तयारी थालिएको हो। क्षेत्रलाई सफा र व्यवस्थित बनाउन शनिबार सरसफाइ कार्यक्रम आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

सरसफाइ कार्यक्रममा वीरगञ्ज महानगरपालिका, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्र, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको संयुक्त सहभागिता रहेको थियो। कार्यक्रममा मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरीक्षक सुदीपराज पाठक, ग्रीन सिटी प्रहरी सामुदायिक केन्द्रका अध्यक्ष जयप्रकाश खेतान तथा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलगायतको उपस्थिति रहेको थियो।

रेल्वे म्युजियम निर्माणको तयारीलाई वीरगञ्जको ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ। आगामी दिनमा विस्तृत योजना तयार गरी निर्माण कार्य अघि बढाइने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर