वीरगञ्ज।प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) नजिकिँदै जाँदा पर्सा–२ क्षेत्रमा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । पारदर्शिता, जवाफदेहिता र नयाँ सोचको नेतृत्व खोजिरहेका मतदाताका कारण यो निर्वाचन पुराना दल र अनुभवी नेताहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ । यहीबीच युवा उम्मेदवारहरूको उपस्थितिले चुनावी समीकरण र रणनीतिमा उल्लेख्य परिवर्तन देखिएको छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका अजय चौरसिया २८ हजार ४५१ मतसहित यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरेका थिए । त्यसयता पर्सा–२ को राजनीतिक वातावरणमा गठबन्धन, दलगत शक्ति सन्तुलन र युवा नेतृत्वको प्रभाव क्रमशः बढ्दै गएको देखिन्छ ।
यसपटक पनि कांग्रेसले चौरसियालाई पुनः उम्मेदवार बनाएको छ । तर मतदाताको प्राथमिकतामा परिवर्तन आएको संकेत देखिएको छ । युवा, विद्यार्थी, पेशाकर्मी तथा स्वतन्त्र सोच राख्ने मतदाताले पुरानो राजनीतिक शैलीभन्दा फरक, परिणाममुखी र जवाफदेही नेतृत्वको खोजी गरिरहेका छन् । यस्तो सोच बोकेका मतदाताहरू नयाँ उम्मेदवारतर्फ आकर्षित हुन थालेका छन् ।
युवा बनाम अनुभवी : मुख्य प्रतिस्पर्धा
पर्सा–२ मा यसपटकको प्रतिस्पर्धा मुख्यतः युवा उम्मेदवार र अनुभवी नेताबीच केन्द्रित देखिन्छ । विभिन्न दलहरूले नयाँ अनुहार र युवा नेतृत्वलाई अघि सारेका छन् भने परम्परागत दलहरूले अनुभवी उम्मेदवारमार्फत आफ्नो संगठनात्मक शक्ति कायम राख्ने रणनीति अपनाएका छन् ।
को–को छन् उम्मेदवार ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ३६ वर्षीय सुशील साह कानु उम्मेदवार छन् । उनी २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष निर्वाचित भएका थिए । हाल उनले पदबाट राजीनामा दिएर रास्वपाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् । मधेशवादी पृष्ठभूमि र स्थानीय अनुभवका कारण उनी युवा मतदातामाझ लोकप्रिय बन्न सक्ने आँकलन गरिएको छ ।
नेकपा एमाले ले २९ वर्षीया रिमा यादव लाई उम्मेदवार बनाएको छ । उनी देशकै कान्छी उम्मेदवारमध्ये एक हुन् । लामो राजनीतिक अनुभव नभए पनि पारिवारिक राजनीतिक पृष्ठभूमि र स्थानीय सञ्जालका आधारमा उनलाई टिकट दिइएको स्थानीयहरूको बुझाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ४० वर्षमुनिकी बीना जैसवाल कुर्मी उम्मेदवार छन् । उनी विघटित प्रतिनिधिसभामा समानुपातिक सांसद भइसकेकी छन् र यसपटक प्रत्यक्ष निर्वाचनमार्फत संसद प्रवेश गर्ने प्रयासमा छन् । उनको राजनीतिक अनुभव र जनसम्पर्क बलियो मानिन्छ ।
जनता समाजवादी पार्टी (जसपा) ले ४५ वर्षीय अशोक टेमानी लाई उम्मेदवार बनाएको छ । नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्षसमेत रहेका टेमानी पहिलोपटक संसदीय राजनीतिमा प्रतिस्पर्धा गर्दैछन् । व्यवसायिक क्षेत्रको सञ्जाल उनका लागि बलियो पक्ष भए पनि राजनीतिक अनुभवको अभाव चुनौतीका रूपमा देखिन्छ ।
यस क्षेत्रका सबैभन्दा अनुभवी र ‘हेभिवेट’ उम्मेदवार भने नेपाली कांग्रेसका अजय चौरसिया नै हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय उनले २०५६ मा पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई सहायक मन्त्री र पछिल्लो समय कानुन मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनको लामो राजनीतिक अनुभव, संगठनात्मक पकड र संसदीय दक्षता उनलाई बलियो उम्मेदवार बनाउने आधार हो ।
चुनावी माहोल : नयाँ अनुहारको चर्चा, पुरानो आधार अझै प्रभावशाली
पर्सा–२ मा अहिले ‘नयाँ’ र ‘युवा’ नेतृत्वको चर्चा व्यापक छ । विशेषगरी युवा, विद्यार्थी र स्वतन्त्र मतदाताले फरक राजनीतिक संस्कृतिको अपेक्षा गरिरहेका छन् । तर अनुभवी नेताहरूको संगठनात्मक शक्ति, स्थानीय प्रभाव र राजनीतिक आधार अझै कमजोर भइसकेको छैन ।
त्यसैले विश्लेषकहरूका अनुसार अन्तिम नतिजा मतदान नजिकिँदासम्म अनिश्चित रहन सक्छ । यो निर्वाचनले मधेशको राजनीतिक परिदृश्यमा नयाँ संकेत दिने सम्भावना पनि उत्तिकै छ ।
अन्ततः फागुन २१ मा पर्सा–२ का मतदाताले गर्ने निर्णयले मात्रै यस क्षेत्रको राजनीतिक भविष्यको दिशा तय गर्नेछ । कडा प्रतिस्पर्धा र बहुआयामिक चुनावी समीकरणका कारण नतिजा सबैको चासोको केन्द्रमा रहेको छ ।


