वीरगंज।आसन्न निर्वाचनलाई ध्यानमा राख्दै नेपाल प्रहरी मुख्यालयभित्रै ‘अतिरिक्त आम्दानी’को अवाञ्छित चलखेल नहोस् भन्ने चिन्ता सतहमा आएको छ। यही सन्दर्भमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा देशभर ‘घुमुवा प्रहरी’को रूपमा कार्यरत तथा यसअघि काम गरिसकेका भूतपूर्व र वर्तमान गरी करिब ५० जना प्रहरी कर्मचारीलाई आकस्मिक रूपमा प्रहरी मुख्यालय, नक्साल काठमाडौं झिकाइएको छ।

मुख्यालय तानिएका प्रहरी कर्मचारीहरू प्रहरी नायब निरीक्षकदेखि प्रहरी जवानसम्म विभिन्न दर्जाका छन्। तीमध्ये करिब २० जना मधेश प्रदेशमा कार्यरत रहेको बताइएको छ। मंगलबार सबैलाई मुख्यालयमा हाजिर गराएपछि अधिकांशलाई गणमा राखिएको छ भने केहीलाई नयाँ जिम्मेवारी दिइएको स्रोतको भनाइ छ। यद्यपि, वर्षौँदेखि एउटै स्थानमा बसेर ‘सेवा–सत्कार’मा अब्बल मानिएका केही व्यक्तिहरू भने यथावत् राखिएको दाबी गरिएको छ।
प्रहरी जवानदेखि वरिष्ठ सईसम्मको सेवाकालमा बारा जिल्लालाई कर्मथलो बनाएका दीपक बस्नेतलाई जिल्ला प्रहरी कार्यालय बाराको क्राइम टोलीको इन्चार्ज बनाइनुले प्रहरी मुख्यालयको निर्णयप्रति नै प्रश्न उठाएको छ। बस्नेतमाथि लामो समयदेखि ‘लखनउ लुट’ शैलीमा अवैध असुली गरेको आरोप लाग्दै आएको छ।
एक दशकभन्दा बढी पथलैयामा ट्राफिक घुमुवाका रूपमा सक्रिय रहँदै अकूत सम्पत्ति आर्जन गरेको आरोप खेप्दै आएका बस्नेतले करिब तीन करोड रुपैयाँ ब्याजमा लगाएको चर्चा प्रहरी वृत्तमै चलिरहेको स्रोतको दाबी छ। उनकै निर्देशनमा सहायक हवल्दार रत्नेश मण्डललाई पुनः पथलैयामा घुमुवा प्रहरीका रूपमा खटाइएको बताइएको छ।
त्यस्तै, वडा प्रहरी कार्यालय विर्ता, वीरगंजमा कार्यरत एक प्रहरी हवल्दारलाई मधेश प्रदेश तानेर पुनः बारा फर्काइनु पनि सामान्य संयोग मात्र नभएको संकेत स्रोतले गरेको छ।
मधेश प्रदेशको जनकपुरमा वरिष्ठ सई गोपाल थापा मगरलाई डीआईजीभन्दा बढी प्रभाव रहने गरी प्रहरी मुख्यालयबाटै खटाइएको बताइन्छ। उनलाई प्रदेशभर घुमुवा प्रहरी परिचालन, असुली सञ्जाल तथा उठ्ती–पुठ्तीको सूक्ष्म अध्ययन र अनुसन्धानको जिम्मेवारी दिइएको दाबी गरिएको छ। सोही लाइनमा वरिष्ठ सई जयलाल यादव र प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र साहलाई धनुषामा असुली व्यवस्थापनको जिम्मेवारी दिइएको स्रोत बताउँछ।
त्यसैगरी, प्रहरी हवल्दार बच्चा यादव र ‘कबीर’ भनेर चिनिने प्रहरी जवान राकेश यादवलाई सप्तरी–महोत्तरी क्षेत्रको हिसाब–किताब हेर्ने जिम्मेवारी दिइएको दाबी गरिएको छ।
भैरहवा नाकामा सई सन्तोष रायमाझीले करिब दुई दशकदेखि निर्वाध प्रभाव जमाउँदै आएको आरोप लाग्दै आएको छ। पाल्पा स्थायी घर भएका रायमाझीले भैरहवा एसएसपी कार्यालय पछाडि भव्य बङ्गला तथा बुटवल राजमार्ग चौराहाको दक्षिण–पश्चिम कुनामा पाँचतले घर निर्माण गरी भाडामा लगाएको विवरण सार्वजनिक भएको छ। उनको टोलीमा असई पदम भण्डारी, सुरेन्द्र चन्द र प्रहरी जवान अखिलेश यादव सक्रिय रहेको बताइन्छ।
यसैबीच, प्रहरी हवल्दार गङ्गा खत्री, जागेश्वर महतो र प्रहरी सहायक हवल्दार सुनील ठाकुर कोशी प्रदेशभर घुमुवा गतिविधि बढाउँदै हिँडिरहेको स्रोतको दाबी छ।
देश निर्वाचनतर्फ केन्द्रित भइरहेका बेला नेपाल प्रहरी मुख्यालय स्वयं ‘अतिरिक्त आम्दानी’को लेखा–जोखामा केन्द्रित देखिनुले गम्भीर प्रश्न उठाएको छ।


