काठमाडौं| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद सुधन गुरुङले राज्यबाट पाउने तलब, भत्ता लगायतका सुविधा नलिने घोषणा गर्नुभएको छ।

ललितपुरको ग्वार्कोमा आयोजित पार्टीको संसदीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यकोषमा भार थप्न नचाहेको स्पष्ट पार्नुभयो। “म तलब खान्न, किन खानु? हामी आफैं सक्षम छौं,” भन्दै उहाँले राजनीतिलाई सेवाको रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले संसदीय कार्यकालभर सरकारी सवारी प्रयोग नगरी आफ्नै निजी गाडी प्रयोग गर्ने पनि बताउनुभयो। यद्यपि, प्रचलित कानुनी व्यवस्था अनुसार संघीय सांसदहरूलाई छुट्टै सरकारी गाडी सुविधा प्रदान गरिँदैन।
गुरुङको यो निर्णयलाई सार्वजनिक खर्च कटौती र सादगी जीवनशैलीतर्फको प्रतिबद्धताका रूपमा हेरिएको छ। रास्वपाका अन्य केही नेताहरूले समेत यसअघि यस्तै प्रकारका घोषणा गरिसकेका छन्, जसले राजनीतिक वृत्तमा फरक अभ्यासको संकेत दिएको छ।
निर्वाचनमा प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै गुरुङले संसद्मा जनताका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता समेत जनाउनुभयो।


