Lucky-Khabar_

पर्सा–४ का समस्याबारे सांसद शाक्यद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण, शिक्षा–स्वास्थ्यदेखि सडकसम्मका मुद्दा उठा

content ad p2

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह सँग मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको बैठकमा पर्सा क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य ले आफ्नो क्षेत्रका विविध समस्याबारे ध्यानाकर्षण गराएका छन्।

बुधबार सिंहदरबारमा आयोजित उक्त छलफलमा सांसद शाक्यले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, बजेट तथा आगामी योजनासम्बन्धी महत्वपूर्ण विषयहरू उठान गरेका हुन्।

उनले पर्सा–४ मा शिक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै क्षेत्र समग्र रूपमा पछि परेकोले शिक्षा क्षेत्रमा विशेष प्राथमिकता दिन आवश्यक रहेको बताए।

स्वास्थ्य सेवाको अवस्थाबारे उनले चिन्ता व्यक्त गर्दै पर्याप्त सुविधा सम्पन्न अस्पताल अभावका कारण स्थानीय बासिन्दाहरूलाई उपचारका लागि ७०–७५ किलोमिटर टाढासम्म जानुपर्ने बाध्यता रहेको बताए। वर्षायाममा पुल अभावका कारण आवतजावत प्रभावित हुँदा बिरामीहरू समयमै वीरगञ्ज पुग्न नसक्ने समस्या पनि उनले औंल्याए।

त्यस्तै, गाउँस्तरका स्वास्थ्य चौकी र बर्थिङ सेन्टरहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र आवश्यक औषधिको अभाव रहेको समेत उनले जानकारी दिए।

सांसद शाक्यले अन्तर्राष्ट्रिय नाकासँग जोडिने सडक विस्तारका क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका कारण अवरोध सिर्जना भएको उल्लेख गर्दै भरतपुर–चितवनसँग सडक सञ्जाल विस्तार गर्न आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।

उनले खिरीथोडा वडा नं. १ मा विगत ३५ वर्षदेखि पुल निर्माण हुन नसकेको समस्या उठाउँदै पुल अभावका कारण वर्षायाममा विद्यार्थीहरू विद्यालय जान नपाउने तथा सुत्केरी महिलाहरू अस्पतालसम्म पुग्न नसक्ने गम्भीर अवस्था रहेको जानकारी दिए।

यसैगरी, सुशासन प्रवर्द्धनसँगै गरीब, दलित, महिला तथा मजदुर वर्गलाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्नुपर्ने र त्यसमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए।

सांसद शाक्यले समग्र मुद्दाहरूलाई समेटेर साना स्थानीय तहहरूको समेत सन्तुलित विकास हुनेगरी प्रभावकारी नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन्।

 

सम्बन्धित खबर

पर्सामा शान्ति–सुरक्षाबारे सर्वदलीय बैठक, सद्भाव कायम राख्न आग्रह

लक्की खबर

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

लक्की खबर

सभापति अजय सर्राफको पहलमा वीरगञ्जको जग्गा वर्गीकरण फाइल भूमि प्रशासन कार्यालय, पर्सामा दर्ता

लक्की खबर