वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा नेतृत्व पक्षमाथि पक्षपातपूर्ण व्यवहार, संगठनभित्र चलखेल तथा योगदान दिएका कार्यकर्तालाई पाखा लगाउने प्रयास भएको आरोप लाग्न थालेको छ।

पार्टीभित्र सक्रिय केही नेता तथा कार्यकर्ताहरूले पर्सा नेतृत्व पक्षले योग्य, सक्षम र लामो समयदेखि योगदान दिँदै आएका व्यक्तिहरूलाई विभिन्न बहाना बनाएर अवसरबाट वञ्चित गरिरहेको बताएका छन्। उनीहरूका अनुसार पार्टीको सिद्धान्त, विचार र संगठन निर्माणमा उल्लेखनीय योगदान नदिएका व्यक्तिहरूलाई व्यक्तिगत स्वार्थ तथा आफ्नो समूह बलियो बनाउन महत्वपूर्ण जिम्मेवारीमा राख्ने प्रवृत्ति बढेको छ।

यसैबीच रास्वपा पर्सा क्षेत्र नम्बर १ की क्षेत्रीय सदस्य बबिता कुमारी धोबी ले आफूलाई बदनियतपूर्वक महाधिवेशन प्रतिनिधिको सूचीबाट हटाइएको आरोप लगाएकी छन्। पार्टी विधानअनुसार क्षेत्रीय पदाधिकारीहरू प्रतिनिधि हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले आफ्नो नाम छुटाइनु विधि र विधानमाथिको खिल्ली भएको बताएकी छन्। उनले यस विषयमा नेतृत्व पक्षमाथि गम्भीर प्रश्न उठाउँदै निष्पक्ष छानबिनको माग गरेकी छन्।
त्यस्तै रास्वपा पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्य ले पनि आफू र आफ्नो परिवार २०७९ सालदेखि पार्टीको सिद्धान्त र अभियानमा निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार गत निर्वाचनमा उम्मेदवार हरि पन्त लाई जिताउन दिनरात खटिएर काम गरे पनि अहिले जिल्ला तथा क्षेत्रीय अधिवेशनको तयारीका क्रममा आफूलाई योजनाबद्ध रूपमा साइड लगाउने प्रयास भइरहेको छ।
आर्यले जिल्ला, क्षेत्रीय तथा नगरस्तरीय विभिन्न विभागहरूमा समेत नेतृत्व पक्षले आफ्नो पक्षका व्यक्तिहरूलाई प्राथमिकता दिएको र संगठनभित्र ‘भोट बैंक’ निर्माण गर्ने उद्देश्यले निर्णयहरू गरिएको आरोप लगाएका छन्।
पार्टीभित्र बढ्दो असन्तुष्टि र आरोप–प्रत्यारोपका कारण रास्वपा पर्सामा संगठनात्मक विवाद चर्किंदै गएको देखिएको छ।
स्थानीय कार्यकर्ताहरूले पार्टी सभापति रवि लामिछाने ले अघि सारेको त्याग, पारदर्शिता र सुशासनको मूल्यमान्यता अनुरूप संगठन सञ्चालन हुनुपर्ने माग गरेका छन्। उनीहरूले आगामी अधिवेशन निष्पक्ष, पारदर्शी र विधिसम्मत रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिएका छन्।


