बीरगञ्ज ।विगत केही वर्षदेखि निर्माणाधीन रहेको बीरगञ्ज महानगरपालिका–१६ नगवास्थित वृद्धआश्रमको उद्घाटन समारोह सम्पन्न भएको छ। वृद्ध आमाबुबाको सेवा तथा बदलिँदो सामाजिक परिवेशमा वृद्धआश्रमको आवश्यकता बढ्दै गएको महसुस गर्दै आश्रम सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ।

मधेश प्रदेशका प्रथम तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै उनले आधुनिक जीवनशैलीका कारण परिवारका सदस्यहरू, विशेषगरी छोराछोरी तथा बुहारीहरूलाई घरका वृद्ध आमाबुबाको नियमित हेरचाह गर्न समय अभाव हुन थालेको बताए। यही परिस्थितिले समाजमा वृद्धआश्रमको आवश्यकता झन् बढाएको उनको भनाइ थियो।
पूर्वमुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री रहँदा बीरगञ्ज, जनकपुर र राजविराजमा कम्तीमा तीनवटा वृद्धआश्रम स्थापना गर्ने योजना बनाएको स्मरण गर्दै समय अभावका कारण उक्त योजना पूरा हुन नसकेको बताए। उनले आगामी दिनमा पनि वृद्धआश्रमको विकास तथा व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न सदैव तयार रहने प्रतिबद्धता व्यक्त गरे।
समारोहका विशिष्ट अतिथि तथा बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष पर्शुराम चौरसियाले आश्रममा अझै निर्माण हुन बाँकी रहेका भौतिक संरचना पूरा गर्न तथा सवारी साधन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताए। वडा कार्यालयबाट आवश्यक सहयोग निरन्तर रहने उनको भनाइ थियो।
वृद्धआश्रमका अध्यक्ष नन्दलाल राउत अहिरले आश्रम सञ्चालनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै सहयोगी हातहरूलाई साथ दिन आग्रह गरे। उनले आश्रममा आश्रय लिइरहेका वृद्ध आमाबुबाको सेवा तथा व्यवस्थापनका लागि आर्थिक र भौतिक सहयोगको आवश्यकता रहेको बताए।
कार्यक्रममा बीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जन, विश्रामपुर गाउँपालिका–२ का वडा अध्यक्ष मनोज यादव, स्थानीय समाजसेवी, सञ्चारकर्मी, वृद्धआश्रमका सदस्यहरू तथा आश्रममा आश्रय लिइरहेका वृद्ध आमाबुबाको उल्लेखनीय सहभागिता रहेको थियो।
उद्घाटनसँगै वृद्धआश्रमले औपचारिक रूपमा सेवा सञ्चालन थालेको छ। स्थानीयवासीले यस संस्थालाई वृद्धहरूको सुरक्षित आश्रयस्थल तथा सम्मानजनक जीवनयापनको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।



