काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजामा संशोधन गरेको छ। प्राविधिक त्रुटिका कारण यसअघि विजयी घोषित दुई जना बाहिरिएका छन् भने दुई नयाँ उम्मेदवारलाई निर्वाचित घोषणा गरिएको छ।

केन्द्रीय सदस्य पदकी उम्मेदवार पूजा बास्तोलाले मतपरिणाममा गडबडी भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएकी थिइन्। उनले आफूभन्दा कम मत प्राप्त गरेका उम्मेदवारलाई विजयी घोषणा गरिएको दाबी गरेकी थिइन्।

उजुरीमाथि छानबिनपछि आयोगले बास्तोलाको दाबीलाई सही ठहर गर्दै नतिजा घोषणामा प्राविधिक त्रुटि भएको स्वीकार गरेको छ। त्यसअनुसार गण्डकी प्रदेशतर्फको केन्द्रीय सदस्यमा पूजा बास्तोलालाई निर्वाचित घोषणा गरिएको छ। यसअघि सो पदमा विजयी घोषित सोम शर्मा अब केन्द्रीय समितिबाट बाहिरिएका छन्। शर्मा बाग्लुङ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
त्यसैगरी, जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषित कृष्णमान श्रेष्ठको स्थानमा ध्रुव थापामगरलाई निर्वाचित घोषणा गरिएको छ। आयोगका अनुसार उम्मेदवारी दर्ताका क्रममा पेश गरिएका कागजातको अध्ययन गर्दा ध्रुव थापामगर नै वैधानिक रूपमा निर्वाचित भएको पुष्टि भएको हो।

यससँगै रास्वपाको केन्द्रीय समितिको अन्तिम निर्वाचित सदस्यहरूको सूचीमा संशोधन गरिएको छ।


