सिरहा। सिरहाको मिर्चैयामा स्कुल बसको ठक्करबाट रौतहटका एक किशोरको दुःखद मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका–३, तेजापाकड निवासी १७ वर्षीय मोहम्मद रेयान रहेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रौतहट निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका पूर्व प्रत्याशी शेख सगिरका भतिजा हुन्।
प्राप्त जानकारीअनुसार मिर्चैया क्षेत्रमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएका रेयानको उपचारका क्रममा निधन भएको हो। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनामा संलग्न बस र चालकबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।यस दुःखद घटनाप्रति परिवारजन, आफन्त, स्थानीयवासी तथा विभिन्न राजनीतिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै दिवंगत रेयानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।


