राम आर्य
बिरगंज। मधेश प्रदेशकै प्रमुख धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिरमा आयोजना हुने चौथो भव्य रथयात्रा तथा पवित्र धार्मिक महोत्सव–२०८३ को सम्पूर्ण तयारी पूरा भएको आयोजक श्री गहवामाई तीर्थ विकास समितिले जनाएको छ। असार ३२ र साउन १ गते आयोजना हुने महोत्सवमा लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ।

आयोजित पत्रकार सम्मेलनमा समितिले दिएको जानकारीअनुसार असार ३२ गते बिहान ७ः३० बजे वैदिक मन्त्रोच्चारण, विशेष पूजा–आराधना तथा धार्मिक विधिपूर्वक रथयात्रा प्रारम्भ हुनेछ। यस वर्षको मुख्य आकर्षणका रूपमा सम्पूर्ण रथयात्रा मार्गमा हेलिकोप्टरबाट पुष्पवृष्टिको विशेष व्यवस्था गरिएको छ। साथै मन्दिर परिसरमा राष्ट्रियस्तरका कलाकारहरूको सहभागितामा भव्य भजन सन्ध्या आयोजना गरिनेछ।

साउन १ गते बिहान ५६ भोगसहित विशेष पूजा गरिनेछ भने अपराह्न ४ बजेदेखि हजारौँ भक्तजनका लागि विशाल महाप्रसाद भण्डाराको आयोजना गरिने समितिले जनाएको छ।
समितिका सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता)ले धार्मिक महोत्सवलाई सफल बनाउन सबैलाई आर्थिक, भौतिक तथा स्वयंसेवी रूपमा सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले “एक किलो नुनदेखि सुनसम्म, सक्दो सहयोग गरौँ” भन्ने आह्वान गर्दै स्वयंसेवा, सरसफाइ, व्यवस्थापन तथा भक्तजन सेवामा पनि सक्रिय सहभागिता जनाउन सबैसँग अनुरोध गर्नुभयो।

रथयात्रा सहज रूपमा सञ्चालन गर्न मुख्य सडकमा भइरहेको सडक विस्तारको काम महोत्सव अवधिभर अस्थायी रूपमा रोक्न सम्बन्धित निकायसँग अनुरोध गरिएको समितिले जनाएको छ। साथै घर, पसल तथा विभिन्न प्रतिष्ठान सजावट गर्ने, कलश स्थापना गर्ने, दीप प्रज्वलन गर्ने तथा भक्तजनका लागि खानेपानी र आवश्यक सेवा–सुविधाको व्यवस्था गर्न पनि नागरिकहरूलाई आग्रह गरिएको छ।

आयोजक समितिले सम्पूर्ण नगरवासीलाई परिवारसहित महोत्सवमा सहभागी भई कार्यक्रमलाई भव्य, सभ्य तथा ऐतिहासिक बनाउन सहयोग गर्न हार्दिक अनुरोध गरेको छ।



