काठमाडौं| काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा डेरा गरी बस्ने ४५ वर्षीय अश्विन राउतले शनिबार बिहान करिब ६ बजे आफ्नै भान्सा कोठामा शरीरमा आगो लगाएका हुन्।
गम्भीर घाइते राउतलाई तत्काल उद्धार गरी वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए।
काठमाडौंमा पछिल्ला केही दिनयता आत्मदाहका घटनाहरू बढिरहेका छन्। बिहीबार त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। त्यसैगरी शुक्रबार सर्लाहीका विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार भइरहेको छ।
प्रहरीले पछिल्ला घटनाहरूको कारण र पृष्ठभूमिबारे अनुसन्धान गरिरहेको जनाएको छ।


