Lucky-Khabar_

गहवामाई मन्दिर आसपासका मिठाई पसलमा अनुगमन, २५ केजी गुणस्तरहीन लड्डु नष्ट, तीन फर्मलाई जरिवाना

वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिर आसपास बिक्री–वितरण हुँदै आएका लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तर र स्वच्छता परीक्षण गर्न बुधबार संयुक्त बजार अनुगमन गरिएको छ।

content ad p2

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्ज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण मञ्च नेपाल तथा सञ्चारकर्मी सम्मिलित टोलीले मन्दिर वरपर सञ्चालित मिठाई पसल तथा उद्योगहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा केही पसल तथा उद्योगमा किचेनको सरसफाइ सन्तोषजनक नभएको, ढुसी लागेको लड्डु बिक्रीका लागि राखिएको तथा लड्डुमा अत्यधिक मात्रामा कृत्रिम रङ प्रयोग गरिएको भेटिएको अनुगमन टोलीले जनाएको छ।

टोलीले तीन वटा फर्मबाट करिब २५ केजी गुणस्तरहीन लड्डु जफत गरी नष्ट गरेको छ। साथै खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि तीन वटा फर्मलाई जनही २० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ। व्यवसायीहरूलाई आगामी दिनमा यस्ता कमजोरी नदोहोर्याउन तथा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशनसमेत दिइएको छ।

जरिवाना गरिएका फर्महरूमा वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार रहेका छन्। त्यस्तै, माईस्थानस्थित आस्था मिष्ठान भण्डारमा भेटिएको गुणस्तरहीन लड्डुसमेत नष्ट गरिएको टोलीले जनाएको छ।

गहवामाई मन्दिर क्षेत्रमा वर्षभरि पूजाआजा तथा धार्मिक गतिविधिका कारण भक्तजनको ठूलो भीड लाग्ने भएकाले त्यहाँ बिक्री हुने लड्डु, पेडा तथा अन्य मिठाईको गुणस्तर र स्वच्छतामा विशेष ध्यान दिनुपर्ने उपभोक्ताहरूले बताएका छन्। अनुगमन टोलीले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै खाद्य व्यवसायीहरूलाई कानुनबमोजिम स्वच्छता र गुणस्तर कायम गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने

लक्की खबर

प्रधानमन्त्री बालन शाहलाई भारत भ्रमणको निम्तो

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर