Lucky-Khabar_

वीरगञ्जमा नगर प्रहरीमाथि अवैध रकम असुलीको आरोप, व्यवसायीद्वारा निष्पक्ष छानबिनको माग

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा कार्यरत केही नगरप्रहरीमाथि निजी व्यवसायी तथा फुटपाथ व्यापारीसँग धम्कीपूर्ण शैलीमा अवैध रकम असुल्ने गरेको आरोप लागेको छ। व्यवसायीहरूले नगरप्रहरीको व्यवहारका कारण आफूहरू त्रसित बनेको भन्दै महानगरपालिकासँग प्रभावकारी अनुगमन, निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन्।

content ad p2

स्थानीय व्यवसायीहरूका अनुसार केही नगरप्रहरी बिहानदेखि रातिसम्म बर्दी लगाएर विभिन्न निजी संस्था, मदिरा पसल, किराना पसल तथा फुटपाथ व्यवसायीका स्थानमा पुग्ने गरेका छन्। उनीहरूले पार्किङ व्यवस्थापन, जरिवाना वा कारबाहीको बहाना देखाउँदै रकम माग्ने, सामानमा छुट दिन दबाब दिने तथा नमाने विभिन्न बहानामा दुःख दिने गरेको आरोप व्यवसायीहरूको छ।

नाम नखुलाउने सर्तमा एक व्यवसायीले बर्दीको दुरुपयोग गर्दै अनावश्यक दबाब दिने र पैसा माग्ने प्रवृत्ति बढेको बताए। विरोध गरे विभिन्न बहानामा दुःख दिने डरका कारण धेरै व्यवसायी खुलेर बोल्न नसकेको उनको भनाइ छ। उनका अनुसार यस्ता गतिविधिले व्यवसाय सञ्चालन गर्न कठिन हुनुका साथै महानगरपालिकाको छविमा समेत नकारात्मक असर परेको छ।

व्यवसायीहरूले औपचारिक उजुरी गर्नसमेत डर लागेको बताएका छन्। उजुरी गरे थप हैरानी र प्रतिशोधको सामना गर्नुपर्ने आशंकाले धेरै पीडित खुलेर नआएको उनीहरूको भनाइ छ।यता, वीरगञ्ज महानगरपालिकाका नगरप्रहरी इन्चार्ज हरि भुसालले हालसम्म यस विषयमा कुनै लिखित वा मौखिक उजुरी प्राप्त नभएको बताएका छन्। उनले प्रमाणसहित उजुरी प्राप्त भए निष्पक्ष छानबिन गरी दोषी देखिएका नगरप्रहरीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारे।

व्यवसायीहरूले महानगरपालिकाले नगरप्रहरीको गतिविधिमाथि नियमित निगरानी बढाउन, बर्दीको दुरुपयोग गर्दै हुने गरेको अवैध असुली रोक्न प्रभावकारी संयन्त्र निर्माण गर्न तथा आरोपबारे निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।उनीहरूका अनुसार यस्ता गतिविधि नियन्त्रण गर्न नसके व्यवसायीमाथिको मनोवैज्ञानिक दबाब बढ्नुका साथै वीरगञ्जको समग्र व्यापारिक वातावरण र महानगरप्रतिको जनविश्वासमा समेत नकारात्मक असर पर्नेछ।

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर