काठमाडौं । भारतबाट मलद्वारमा लुकाएर खैरो हेरोइन नेपाल भित्र्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङको रंगेली नगरपालिका–६ स्थित पुरानो भन्सार टोलबाट इलाम चुलाचुली गाउँपालिका–१ का स्थायी बासिन्दा तथा हाल मोरङको पथरी शनिश्चरे नगरपालिका–१ बस्दै आएका २३ वर्षीय सम्योक वानेम फागो र सोही स्थानकी २० वर्षीया भूमिका फागोलाई पक्राउ गरिएको हो।
विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर गरिएको जाँचका क्रममा दुवैले कालो प्लास्टिकमा बेरेर मलद्वारमा लुकाएको अवस्थामा कुल २६ दशमलव ५१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषधमध्ये सम्योकको साथबाट १५ दशमलव ४४ ग्राम र भूमिकाको साथबाट ११ दशमलव ०७ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जानकारी दिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


