Lucky-Khabar_

हेलिकप्टरमार्फत गाउँ ल्याइयो गणेश यादवको शव, आजै हिन्दु परम्पराअनुसार अन्त्येष्टि

सिरहा । सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका १५ वर्षीय गणेश यादवको शव शनिबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत उनको गाउँ पुर्‍याइएको छ।

content ad p2

पोष्टमार्टम प्रक्रिया सम्पन्न भएपछि साँझ करिब ६:३० बजे सेनाको हेलिकप्टरमार्फत शव औरही गाउँपालिका–२, तुलसियाही ल्याइएको हो। हेलिकप्टरबाट झारिएको शव एम्बुलेन्समार्फत परिवारले घरमा लगेका छन्।

परिवारका सदस्यका अनुसार घरमा हिन्दु परम्पराअनुसार दाहसंस्कारपूर्वका धार्मिक विधि सम्पन्न गरेपछि शवलाई गागन खोलाको किनारमा अन्तिम संस्कारका लागि लगिने तयारी गरिएको छ। स्थानीयवासी, आफन्त तथा शुभेच्छुकहरू अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मृतकको घरमा भेला भएका छन्।

गणेश यादवको बिहीबार सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। घटनापछि शुक्रबार राति गृहमन्त्री सुदन गुरुङ मृतकको निवास पुगेर परिवारसँग भेटवार्ता गरेका थिए।

वार्तापछि सरकार र मृतकका परिवारबीच ८ बुँदे सहमति भएको जनाइएको छ। सहमतिमा घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, राहत तथा परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउनेलगायत विषय समेटिएको बताइएको छ।

यस घटनापछि गोलबजारसहित मधेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको थियो भने सरकारले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरोकारवालासँग निरन्तर संवाद गरिरहेको जनाएको छ।

सम्बन्धित खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर

भारतीय अभिनेता विक्रान्त मास्से काठमाडौंमा

लक्की खबर

पर्सामा हिन्दूवादी सङ्गठनहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिए

लक्की खबर